माेरङकाे पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ ले बालबालिका र युवा खेलाडीहरूको सुरक्षालाई मध्यनजर गर्दै ‘निःशुल्क दुर्घटना बिमा’ कार्यक्रम सुरु गरेको छ। नगरपालिकामै पहिलोपटक सरकारी तवरबाट वडाले यस्तो नवीनतम कार्यक्रमको थालनी गरेको हो ।
वडाभित्र स्थायी बसोबास गर्ने ३ वर्षदेखि १५ वर्षसम्मका सम्पूर्ण बालबालिका र १९ वर्षसम्मका युवा खेलाडीलाई लक्षित गरी यो कार्यक्रम ल्याइएको हो । गत वैशाख १५ र १६ गते सञ्चालित शिविरमार्फत पहिलो चरणमा ३ सय ५४ जना बालबालिका तथा खेलाडीहरूको बिमा गरिएको वडा कार्यालयले जनाएको छ ।
बिमा सुविधा र कभरेज: बिमा कार्यक्रम अन्तर्गत बिमितले एक वर्षभित्र हुने विभिन्न भवितव्यमा आर्थिक राहत पाउनेछन्। जसअनुसारदुर्घटनामा परी चोटपटक लागेमा, सर्पले डसेमा, कुकुर, बिरालो लगायतका जनावरले टोकेमा वा चिथोरेमा, उपचार खर्च बापत एक पटकमा एक लाख रुपैयाँसम्मको बिमा दाबी गर्न सकिने व्यवस्था मिलाइएको छ।
वडाको यो कदमले खेलकुदका क्रममा हुने चोटपटक र दैनिक जीवनमा आइपर्ने आकस्मिक दुर्घटनाको जोखिम कम गर्न ठुलो सहयोग पुग्ने विश्वास गरिएको छ। बालबालिकाको स्वास्थ्य र सुरक्षाप्रति वडा सरकार जिम्मेवार रहेको सन्देश दिँदै यो कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने लक्ष्य राखिएको छ।






