सुरक्षा व्यवस्था चुस्त बनाउन पथरी शनिश्चरे वडा नं. ८ का मुख्य चोकहरूमा सीसीटिभी जडान

सुरक्षा व्यवस्था चुस्त बनाउन पथरी शनिश्चरे वडा नं. ८ का मुख्य चोकहरूमा सीसीटिभी जडान

पथरी/माेरङकाे पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ ले वडाभित्रको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन मुख्य प्रशासनिक तथा व्यापारिक चोकहरूमा सीसीटिभी क्यामेरा जडान गरेको छ। ‘सुरक्षित वडा’ को अवधारणालाई सार्थक बनाउन वडा कार्यालयले यो प्रविधिमैत्री कदम चालेको हो।

वडा कार्यालयका अनुसार हाल गुराँस चोक, सोमबारे, माथिल्लो मिलन चोक, तल्लो मिलन चोक, भेटघाट चोक (कुशे), मंगलबारे, शुक्रबारे, शिवजी चोक र बतासेली चोक (झोलुङ्गे पुल) क्षेत्रमा क्यामेराहरू जडान गरिएको छ।

वडाध्यक्ष नवीन कार्कीले यी क्यामेराहरूले वडाका मुख्य सडकहरूको चौबीसै घण्टा ‘ट्र्याकिङ’ गर्ने जानकारी दिनुभयो। उहाँका अनुसार यो पहिलो चरणको कार्यक्रम हो। “हामीले अहिले बढी चहलपहल हुने मुख्य स्थानहरू समेटेका छौँ,” अध्यक्ष कार्कीले भन्नुभयो, “दोस्रो चरणमा वडाका अन्य आवश्यक र संवेदनशील स्थानहरूमा समेत सीसीटिभी विस्तार गरिनेछ।”

सीसीटिभी जडान भएपछि सडक दुर्घटनाको पहिचान, चोरी-डकैती नियन्त्रण, लागुऔषध दुर्व्यसनीहरूको निगरानी र अन्य सामाजिक अपराध न्यूनीकरणमा ठुलो सहयोग पुग्ने विश्वास गरिएको छ। वडाको यो सक्रियतालाई स्थानीय बासीहरूले स्वागत गर्दै अब गाउँ टोलमा सुरक्षाको प्रत्याभूति हुने र सामाजिक बेथितिहरू घट्ने अपेक्षा व्यक्त गरेका छन्।

सम्बन्धित खवर