पूर्व–प्राथमिक तहका शिक्षकलाई एनप्याब्यानकाे पुनर्ताजगी तालिम

पूर्व–प्राथमिक तहका शिक्षकलाई एनप्याब्यानकाे पुनर्ताजगी तालिम

 

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल नेसनल प्याब्सन कास्कीले आफ्ना सदस्य विद्यालयमा कार्यरत पूर्वप्राथमिक तहका शिक्षकको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पोखरामा एकदिने पुनर्ताजगी कार्यशाला सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष रोशन कोइरालाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रशिक्षकद्वय खिमराज सुबेदी र सविता कोइरालाले सहजीकरण गर्दै कला, शिल्प, खेलकुद तथा प्रविधिको समुचित प्रयोग, बालगीत , कथामार्फत शिक्षण गर्ने विधि, त्रुटि पहिचान तथा सुधारका उपाय, साथै प्रयोगात्मक शिक्षणका विविध पद्धतिबारे सहभागीहरूलाई जानकारी गराएका थिए।

प्रशिक्षकहरूले निरन्तर अभ्यासबाट मात्रै शैक्षिक तथा सिर्जनात्मक क्षमता विकास सम्भव हुने उल्लेख गर्दै व्यवहारमुखी सिकाइ र विद्यार्थी–केन्द्रित शिक्षण पद्धतिमा जोड दिन शिक्षकहरूलाई आग्रह गरेका थिए।

कार्यक्रमको सञ्चालन नेसनल प्याब्सन कास्कीका सचिव इजिना केसीले गरेका थिए। पोखरा महानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ अधिकृत सोमनाथ भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराई र केन्द्रीय व्यवस्थापन समिति संयोजक कमल रानाभाट लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

उपाध्यक्ष विकल पौडेल को संयोजकत्वमा सम्पन्न भएको सो कार्यशालामा नेसनल प्याब्सन कास्कीमा आबद्ध विद्यालयका पूर्वप्राथमिक तहका शिक्षकहरूको सहभागिता रहेको थियो। सहभागीहरूले कार्यशाला उपयोगी तथा प्रभावकारी भएको प्रतिक्रिया दिएका छन् ।

सम्बन्धित खवर