मानवता, निष्पक्षता, स्वेच्छिक सेवा, एकता तथा विश्वव्यापकता जस्ता मूल सन्देशलाई आत्मसात् गर्दै पोखरा महानगरपालिका वडा नं. २७ स्थित अर्घौचोकमा रहेको नेपाल रेडक्रस सोसाइटी उप–शाखा कास्कीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न संघ–संस्था, युवा क्लब, आमा समूह तथा स्थानीय बासिन्दाको सक्रिय सहभागितामा जम्मा ३२ युनिट रगत संकलन गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमका सभापति तथा उप–शाखा केन्द्र अर्घौका अध्यक्ष बोधराज लामिछानेले कार्यक्रममा उपस्थित विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूलाई स्वागत गर्दै रक्तदान जस्तो पुण्य कार्यले ज्यान जोखिममा रहेका बिरामी, दुर्घटनामा परेका घाइते तथा विभिन्न रोगबाट ग्रसित व्यक्तिहरूको जीवन रक्षा गर्न महत्वपूर्ण योगदान पुग्ने बताए। उनले समाजमा अझै पनि रगत अभावका कारण धेरै बिरामीले दुःख पाइरहेको अवस्था रहेको उल्लेख गर्दै यस्ता मानवीय कार्यमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको धारणा व्यक्त गरे। साथै उनले आगामी दिनहरूमा पनि नियमित रूपमा रक्तदान कार्यक्रम सञ्चालन गरिने जानकारी दिँदै सबैलाई सहयोगका लागि आह्वान गरे।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. २७ का वडा अध्यक्षले अर्घौ बजार व्यवस्थापन समितिका उपाध्यक्ष घनश्याम ढुंगानालाई पहिलो रक्तदाता बनाउँदै ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए। उद्घाटन मन्तव्यका क्रममा उनले रक्तदानलाई “जीवनदान” को रूपमा व्याख्या गर्दै स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्नु सामाजिक उत्तरदायित्व भएको बताए। उनले यस प्रकारका कार्यक्रमहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गर्दै युवा क्लब, आमा समूह तथा विभिन्न सामाजिक संघ–संस्थालाई अझ सक्रिय भई यस्ता कार्यक्रमलाई सफल बनाउन आग्रह गरे।
कास्की रेडक्रस जिल्ला शाखाका उप–महामन्त्री डिल्लीराम बरालले रक्तदान कार्यक्रममा निरन्तर रूपमा योगदान दिने संस्थाहरूको रेडक्रसले मूल्यांकन गरिरहेको जानकारी दिँदै मानव सेवामा समर्पित संस्थाहरूलाई थप सशक्त र प्रभावकारी रूपमा अघि बढ्न सुझाव दिए। उनले रक्तदान अभियानलाई व्यापक बनाउन स्थानीय तह, संघ–संस्था र नागरिकबीच समन्वय आवश्यक रहेको पनि बताए।
नेपाल रेडक्रस सोसाइटी प्रादेशिक कार्यालय पोखराको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा संस्थाकी कोषाध्यक्ष विष्णुकुमारी लामिछानेले रेडक्रसका सात सिद्धान्त वाचन गर्दै मानव सेवाको मूल भावनालाई स्मरण गराएकी थिइन्।
कार्यक्रमको सञ्चालन संस्थाकी सचिव प्रभा पौडेल लामिछानेले कुशलतापूर्वक गरेकी थिइन् भने कार्यक्रमको अन्त्यमा उप–शाखा सदस्य तथा रक्तदान कार्यक्रम संयोजक रामप्रसाद तिमल्सेनाले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण दाताहरू, स्वयंसेवक, संघ–संस्था तथा उपस्थित सबैप्रति कृतज्ञता व्यक्त गरेका थिए।
कार्यक्रमले स्थानीय स्तरमा रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै आवश्यक परेका बिरामीहरूका लागि रगत आपूर्ति गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकको विश्वास रहेको छ।






