रोल्पाको थवाङ गाउँपालिकामा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ।
गाउँपालिका–१ अन्तर्गत जलजला जाने सडकखण्डमा रुकुमबाट मेला भर्न गएका यात्रु बोकेको जीप दुर्घटनामा परेको हो। इलाका प्रहरी कार्यालय थवाङका अनुसार जीप सडकबाट करिब ८ सय मिटर तल खसेको थियो, जसका कारण घटनास्थलमै २० जनाको मृत्यु भएको पुष्टि गरिएको छ।
प्रहरी निरीक्षक रामचन्द्र बगालेले दुर्घटनापछि तत्कालै उद्दार कार्य सुरु गरिएको जानकारी दिएका छन्। उनका अनुसार हालसम्म मृतकहरूको सनाखत गर्ने काम जारी छ भने घाइतेको अवस्था र यात्रुहरूको यकिन संख्या अझै खुल्न सकेको छैन।
दुर्घटनाको समयमा वर्षा भइरहेका कारण उद्दार कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। घटनास्थल दुर्गम क्षेत्रमा पर्ने भएकाले उद्दार टोलीलाई थप चुनौती सामना गर्नु परेको छ।
यस घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।






