बेगनासतालमा वार्षिक चार लाख माछाका भुरा छाडिँदै, जलारी समुदायको आयआर्जनमा टेवा

बेगनासतालमा वार्षिक चार लाख माछाका भुरा छाडिँदै, जलारी समुदायको आयआर्जनमा टेवा

कास्कीको दोस्रो ठूलो बेगनास ताल मा जलारी समुदायको जीविकोपार्जन सुदृढ गर्ने उद्देश्यले माछाका भुरा छाड्ने कार्यलाई निरन्तरता दिइएको छ। यसैक्रममा चालु आर्थिक वर्षको प्रारम्भिक चरणमा विभिन्न प्रजातिका करिब तीन हजार माछाका भुरा तालमा छोडिएको छ भने वार्षिक रूपमा यहाँ करिब चार लाख भुरा छाडिँदै आएको छ।

बेगनासताल मत्स्य व्यवसायी समितिको आयोजना तथा पोखरा महानगरपालिका वडा नं ३१ को आर्थिक सहयोगमा सम्पन्न कार्यक्रममा १०० देखि ३०० ग्राम तौलका करिब ४२५ केजी माछा तालमा छाडिएको हो। माछाको संख्या र तौल दुवैलाई ध्यानमा राख्दै तालको उत्पादन क्षमता बढाउने र स्थानीय माछा व्यवसायलाई थप मजबुत बनाउने लक्ष्य लिइएको समितिले जनाएको छ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष ढकनाथ कडेल ले बेगनास ताललाई आन्तरिक तथा बाह्य पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न महानगरले नयाँ योजना ल्याउने तयारी गरिरहेको जानकारी दिए। उनले ताल वरपर बसोबास गर्दै आएका जलारी समुदायको जीवनस्तर उकास्न माछापालनलाई नीतिगत रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।

उनका अनुसार बेगनास ताललाई सहकारी अवधारणामा आधारित बनाउँदै स्थानीय बासिन्दासँग समन्वय गरेर सञ्चालन गर्न सकिएमा माछा उत्पादन, व्यवस्थापन र बजारिकरणमा समेत सुधार आउनेछ। साथै, माछा मार्ने पेशालाई व्यवस्थित र दिगो बनाउन व्यवसायीहरूलाई स्थानीय तहमा दर्ता भई करको दायरामा आउन उनले आग्रह गरे।

कार्यक्रमका क्रममा मत्स्य व्यवसायी समिति बेगनासका अध्यक्ष ज्ञानु जलारीले ताल वरपर बसोबास गर्ने करिब ६० घरधुरीका दुई सयभन्दा बढी व्यक्तिको मुख्य जीविकोपार्जन माछा मार्ने पेशामा आधारित रहेको बताए। उनले पछिल्लो समय विकास निर्माणका नाममा भइरहेका गतिविधिहरूले परम्परागत पेशामा असर पर्ने चिन्ता व्यक्त गरे।

“हाम्रो पुस्तौँदेखिको पेशा माछा मार्ने हो, तर अहिले विभिन्न विकासका योजनाले हाम्रो पेशा नै संकटमा पर्ने हो कि भन्ने डर बढेको छ,” उनले भने।

 

त्यस्तै, कार्यक्रममा पूर्व अध्यक्ष झलक जलारी र निवर्तमान अध्यक्ष राजेन्द्र जलारीले माछा बिक्रीबाट संकलित कोषको रकम प्रयोग गरी प्रत्येक वर्ष करिब २० देखि २२ लाख रुपैयाँ बराबरका माछाका भुरा छाडिँदै आएको जानकारी दिए। उनीहरूका अनुसार यस वर्ष वडा नं ३१ को दुई लाख रुपैयाँ आर्थिक सहयोगले कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग पुगेको छ।

उनीहरूले आगामी दिनमा पनि स्थानीय सरकार तथा सरोकारवाला निकायबाट निरन्तर सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गर्दै माछा उत्पादन वृद्धि, तालको संरक्षण तथा जलारी समुदायको पेशागत सुरक्षामा सबैको ध्यान जानुपर्ने बताए।

बेगनास तालमा माछाका भुरा छाड्ने कार्यले एकातर्फ तालको जैविक विविधता संरक्षणमा सहयोग पुर्‍याएको छ भने अर्कोतर्फ स्थानीय समुदायको आयआर्जन बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ। सरोकारवालाहरूका अनुसार यस्ता कार्यक्रमलाई दिगो रूपमा सञ्चालन गर्न सकेमा बेगनास ताल क्षेत्रलाई मत्स्य उत्पादन तथा पर्यटनको केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना रहेको छ।

सम्बन्धित खवर