भुपू सुरक्षा मिलन केन्द्रद्वारा रक्तदान कार्यक्रममा २७ युनिट रगत संकलन

भुपू सुरक्षा मिलन केन्द्रद्वारा रक्तदान कार्यक्रममा २७ युनिट रगत संकलन

कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. २६ स्थित विजयपुरमा भुपू सुरक्षा मिलन केन्द्रद्वारा आइतवार आयोजित रक्तदान कार्यक्रममा २७ युनिट रगत संकलन गरिएको छ। उक्त कार्यक्रमले स्थानीय स्तरमा रगत अभाव न्यूनीकरणमा सहयोग पुर्‍याएको आयोजकले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि सामाजिक व्यक्तित्व तथा पूर्व प्रमुख सेनानी प्रयागराज भण्डारीले पहिलो रक्तदाता तथा ३१ औँ पटक रक्तदान गरेका बसन्त बञ्जारालाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए। कार्यक्रममा बोल्दै भण्डारीले निवृत्त सैनिक जीवनलाई समाजसेवामा समर्पित गर्नुपर्ने आवश्यकता औंल्याउँदै सेवाकालमा सिकेका अनुभवलाई सामाजिक कार्यमा उपयोग गर्न आग्रह गरे।

मिलन केन्द्रका अध्यक्ष राजु अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बसन्त बञ्जारा, सचिव टेक बहादुर केसी, सेनानी (अप्रा) भिमप्रसाद लामिछाने, संस्थापक अध्यक्ष हितबहादुर थापा लगायतले रक्तदानको महत्वबारे आ-आफ्ना धारणा राखेका थिए।

नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।

सम्बन्धित खवर