पोखरा महानगरपालिका–३० स्थित गणेश नेवाः खलको भवनमा लेखनाथ नेवाः खलको आठौं साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ। साविक लेखनाथ क्षेत्र र वरपरका गाउँपालिकामा बसोबास गर्ने नेवार समुदायको कला, भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित अधिवेशनले नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको हो।
अधिवेशनबाट पोखरा–२६ अर्घौं निवासी प्रकाशलाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ। उपाध्यक्षमा बाल गोपाल श्रेष्ठ र लिल बहादुर श्रेष्ठ चयन भएका छन् भने सचिवमा महेन्द्रकुमार श्रेष्ठ (भिमसेन नेवा) र सहसचिवमा राजु ताम्राकार (शिशुवा नेवा) चयन भएका छन्। कोषाध्यक्षमा मिना श्रेष्ठ चयन हुँदा सदस्यहरूमा प्रेमलाल श्रेष्ठ (रुपा देउराली), राजकुमार श्रेष्ठ (गगन नेवा), पृथ्वीनारायण श्रेष्ठ (समाज कल्याण), शरणकुमार प्रधान (गगन नेवा) र रुपनारायण श्रेष्ठ (गणेश नेवा) रहेका छन्।
कार्यक्रममा नेवा कला र संस्कृतिको संरक्षणमा उल्लेखनीय योगदान पुर्याएको भन्दै गगन नेवा खलका लक्ष्मी प्रधानलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
लेखनाथ नेवाः खलका अध्यक्ष भैरवलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्योगी तथा समाजसेवी एवं लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष विक्रम कर्माचार्य, गणेश नेवा खलका अध्यक्ष प्रेम लिगल, लेखनाथ मिसाः पुचका अध्यक्ष मिना श्रेष्ठलगायत मानबहादुर श्रेष्ठ, अर्जुन ताम्राकार, शरण प्रधान, सरु श्रेष्ठ र पवित्रा श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा प्रथम उपाध्यक्ष गणेशकुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने धन्यवाद ज्ञापन नव-निर्वाचित अध्यक्ष प्रकाशलाल श्रेष्ठले गरेका थिए। कार्यक्रम सञ्चालन संस्थाका सचिव बाल गोपाल श्रेष्ठले गरेका थिए। निर्वाचन मण्डलमा प्रेम लिगल, शरण प्रधान र मानबहादुर श्रेष्ठ रहेका थिए।
यस अधिवेशनले नेवार समुदायको एकता सुदृढ गर्दै कला, भाषा र संस्कृतिको संरक्षणमा थप सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।




