पर्यटकीय राजधानी पोखरामा शुक्रबारदेखि रोटरी डिष्ट्रिक्ट ३२९२ को १८ औं डिष्ट्रिक्ट कन्फरेन्स सुरु हुँदैछ । पोखराकै इतिहासमा रोटरीको यो तेस्रो सम्मेलन हो ।
बुलौदीस्थित पोखरा इभेन्ट सेन्टरमा वैशाख ४ देखि ६ गतेसम्म संचालन हुने सम्मेलनले पोखरेलीहरु उत्साहित छन् । नेपाल र भुटानका गरी १५ सय रोटरियनले भाग लिने सम्मेलनले यहाँको आन्तरिक एवं वाह्य पर्यटन व्यवसायमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
बिहीबार पत्रकार सम्मेलनमा डिष्ट्रिक्ट गभर्नर विनोद कोइरालाले आफू पोखराबाटै प्रतिनिधित्व गर्दै गभर्नर भएकाले पनि गृहनगरीमा ऐतिहासिक सम्मेलन गर्न पाउनु सुखद पक्ष भएको बताए ।
सम्मेलनमा नेपाल, भुटान, अमेरिका, भारत, अष्ट्रेलियाबाट समेत रोटरियन आउने हुँदा पोखराको पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने अपेक्षा गरे । उनका अनुसार रोटरीले एक देशमा मात्र सीमित नभइकन ओभर अल नेटवर्कलाई विश्वास गर्छ ।
रोटरीले सामाजिक सेवाअन्तर्गत विद्यालय भवन तथा कम्प्युटर ल्याब निर्माण, खानेपानीका आयोजना, छात्रवृत्ति प्रदान, विपत् व्यवस्थापन एवं राहत समेतमा निःशुल्क सहयोग गर्दै आएको उनले जानकारी दिए ।
डिष्ट्रिक्ट गभर्नर कोइरालाले भने, ‘रोटरी फाउण्डेसनमा नेपालबाट साढे ५ लाख डलर योगदान गर्ने र त्यसवापत १० गुना बढी ल्याएर नेपालमा काम गर्ने हो । हामीहरुले गर्ने प्रोजेक्टमा रोटरियनहरुले नै सहयोग गर्नुहुन्छ । यहाँ आफ्नो विज्ञताको योगदान दिने हो ।’
सम्मेलन सफल पार्न लक्ष्मी थापा गिरीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।
विभिन्न २० उपसमितिले आ–आफ्नो जिम्मेवारीमा रहेर कार्यक्रम सभ्य र भव्य बनाउन लागिपरेको सम्मेलनका मूल समारोह समिति सचिव जयराम पौडेलले बताए ।
नयाँ वर्ष–२०८३ को सुरुवातसँगै हुने सम्मेलनमा विभिन्न विधामा नेपाल र विदेशका विज्ञहरुबाट रोटरीको सेवा क्षेत्रमा कार्यपत्र प्रस्तुत हुनेछन् । कार्यपत्रमाथि छलफल गरी आगामी दिनमा सेवा अझ विस्तारित बनाउने लक्ष्य छ ।
सम्मेलनको पहिलो दिन उद्घाटन सत्रसहित सामाजिक तथा विभिन्न पेसा व्यवसायमा उत्कृष्ट कार्य गर्ने व्यक्तिलाई भोकेसनल अवार्ड प्रदान गरिनेछ ।
सम्मेलनको प्रमुख अतिथि रोटरी इन्टरनेशनल प्रेसिडेन्टका प्रतिनिधि राजा गोविदासामी रहनेछन् ।
दोस्रो दिन रोटरीका विभिन्न कमिटीमार्फत संचालित कार्यक्रमबारे छुट्टाछुट्टै समूहमा छलफल हुनेछ भने अन्तिम दिन रोटा क्वीज एवं आगामी रोटरी बर्ष २०२८/२९ का लागि डिष्ट्रिक्ट गभर्नर निर्वाचन हुनेछ ।
तीन दिन नै प्यानल डिस्कसनका कार्यक्रम पनि हुनेछन् ।
मूल समारोह समिति संयोजक गिरीले पोखरामा हुने सम्मेलन सफल पार्न मिडियाबाट सकारात्क समाचार प्र्रकासन–प्रसारणको अपेक्षा गरिन् । उनको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको संचालन रोटरीका असिस्टेन्ट गभर्नर एवं सम्मेलन मिडिया को–अर्डिनेटर रवीन्द्र बास्तोलाले गरेका थिए ।
‘स्वार्थभन्दा माथि उठेर’ सेवा गर्नु रोटरीको मूलनारा हो । गैरराजनीतिक र सेवामूलक अन्तर्राष्ट्रिय सामाजिक संस्था रोटरीको स्थापना सन् १९०५ मा अमेरिकाको शिकागोमा भएको हो । यसका प्रमुख संस्थापक पाउल हेरिस् हुन् ।
विश्वभर करिब २ सय देशमा सञ्जाल रहेको रोटरीका १२ लाखभन्दा बढी सदस्य छन् ।भारतको कलकत्ताको रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९० मातहतमा सन् १९५७ देखि रोटरी क्लब अफ काठमाडौं स्थापनासँगै विधिवत् रुपमा नेपालमा रोटरीले प्रवेश पाएको थियो । पछि नेपाललाई रोटरीको छुट्टै स्वायत्त क्षेत्र बनाउने प्रयासमा सन् २००८ मा रोटरी डिष्ट्रिक्ट ३२९२ ले मान्यता पायो । हाल भुटानको एक क्लबसहित नेपालका १ सय ६१ क्लब आबद्ध रहेको रोटरी डिष्ट्रिक्ट ३२९२ मा ५ हजार ७ सय सदस्य आबद्ध छन् ।
युवा नेतृत्व विकासका लागि १ सय ८० रोट्रयाक्ट र १ सय ५० इन्ट्रयाक क्लब पनि क्रियाशील छन् । पोखरामा मात्रै ११ रोटरी क्लब छन् ।
पोखरामा सर्वप्रथम सन् २०१३/१४ मा तत्कालीन डिष्ट्रिक्ट गभर्नर दिलेन्द्रराज श्रेष्ठ र सन् २०१९/२० मा किरणलाल श्रेष्ठको पालामा यस्तैखालको डिष्ट्रिक्ट कन्फरेन्स भएको थियो । यसपालिको सम्मेलनमा भाग लिन १५ सय जना रोटरियनहरु पोखरा आउने क्रम जारी छ । सम्मेलनस्थल पोखरा इभेन्ट सेन्टर निकै सजाइएको छ ।
रोटरी विशेषगरी शिक्षा, खानेपानी, सरसफाइ, विपत् व्यवस्थापन, राहत, वातावरण र सामाजिक तथा आर्थिक विकासमा रोटरी क्रियाशील रहँदैआएको छ । नेपालमा विभिन्न रोटरी क्लबहरुले खानेपानी, अस्पतालमा उपकरण सहयोग, स्कुल भवन, कम्प्युटर ल्याब, एम्बुलेन्स लगायत मानवीय सेवामा समर्पित रहँदै आएको पाइन्छ ।




