उर्लाबारी/ सञ्चारकर्मीहरूलाई स्वास्थ्य सेवामा सहुलियत प्रदान गर्ने उद्देश्यले उर्लाबारीस्थित सञ्चार क्लब नेपाल र मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरबीच सम्झौता भएको छ।
नयाँ वर्ष २०८३ को अवसर पारेर मङ्गलबार क्लब र सो अस्पतालबीच उक्त सम्झौता गरिएको हो। सम्झौताअनुसार क्लबमा आबद्ध सञ्चारकर्मीहरूले बिरामी भई अस्पतालमा उपचार गराउँदा विभिन्न सेवामा सहुलियत पाउने छन् ।
अस्पताल व्यवस्थापन समितिको गत माघ २६ गतेको निर्णयअनुसार गरिएको सम्झौतामा ओ.पि.डी. दर्ता तथा परामर्श सेवा निःशुल्क रहनेछ भने जेनरल बेड चार्ज पनि निःशुल्क हुने व्यवस्था गरिएको छ । साथै ल्याब परीक्षण तथा एक्स–रेमा ५० प्रतिशत, सिटी स्क्यान (कन्ट्रास्ट बाहेक) मा ५० प्रतिशत छुट प्रदान गरिनेछ।
त्यस्तै, अपरेसन शुल्कमा चिकित्सकको सिफारिसका आधारमा २५ देखि ५० प्रतिशतसम्म छुट दिइनेछ भने औषधिमा २० प्रतिशत र दन्तसम्बन्धी सेवामा २५ प्रतिशत छुट दिने सहमति भएको छ।
सम्झौताअनुसार उक्त सेवा लिन क्लबले उपलब्ध गराएको परिचयपत्र अनिवार्य रूपमा पेस गर्नुपर्ने छ। साथै यो सुविधा प्रत्यक्ष उपचारसम्बन्धी सेवामा मात्र लागू हुने र आई.भी.एफ., क्याबिन, प्लास्टिक तथा कस्मेटिक सर्जरी, इम्प्लान्ट लगायतका सामग्रीमा छुट लागु नहुने उल्लेख गरिएको छ। यस्तै फुल बडी चेकअपमा पनि यो सुविधा लागू नहुने जनाइएको छ।
सो सम्झौताअनुसार नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा, आमा सुरक्षा कार्यक्रम तथा विपन्न नागरिक औषधि उपचार कोषजस्ता सुविधाहरू पूर्ण रूपमा उपयोग गरिसकेपछि मात्र उल्लेखित सहुलियत पाइने बताएको छ ।
सम्झौताको अवधि २०८३ साउन १ गतेदेखि २०८४ असार मसान्तसम्म रहनेछ भने दुवै पक्षको सहमतिमा परिमार्जन तथा निरन्तरता दिन सकिने बताइएको छ ।
सो सम्झौता पत्रमा क्लबका अध्यक्ष कुमार खड्का र अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रविकुमार शाहले हस्ताक्षर गरेका छन्।




