पथरी‚ मोरङको पथरी शनिश्चरे–१, शिखर चौकमा रहेको ज्ञानकुञ्ज मन्टेश्वरीले यस वर्षको वार्षिक कार्यक्रम तथा ग्राजुएसन डेलाई स्मरणीय बनाएको छ। बालबालिकाको उत्साह, अभिभावकको उपस्थिति र सांस्कृतिक रंगले कार्यक्रमलाई विशेष बनाएको हो।
वडा नं. २ स्थित हरियाली सामुदायिक वनको सभाहलमा सम्पन्न कार्यक्रम मन्टेश्वरीका अध्यक्ष गणेश राईको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा साना नानीबाबुहरूको वर्षभरिका उपलब्धि झल्किने विभिन्न खेलकुद तथा शैक्षिक प्रतिस्पर्धाका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो।

कार्यक्रमको सुरुवातमै बालबालिकाहरूले ‘कोही पूर्व कोही पश्चिम…’ गीतमा आकर्षक सामूहिक नृत्य प्रस्तुत गर्दै उपस्थित अभिभावक तथा अतिथिहरूलाई स्वागत गरेका थिए। त्यसपछि एकपछि अर्को गर्दै प्रस्तुत भएका सांस्कृतिक नृत्यहरूले सभाहलमा रमाइलो वातावरण सिर्जना गर्यो। शिक्षिकाहरूको नृत्य प्रस्तुति पनि दर्शकका लागि विशेष आकर्षण बन्यो।
कार्यक्रमको सबैभन्दा मार्मिक क्षण भने अन्तिमतिर देखियो, जब कक्षा १ का विद्यार्थीहरूको दीक्षान्त समारोह सम्पन्न भयो। साना नानीबाबुहरू दीक्षित हुँदै गर्दा शिक्षिका, अभिभावक र बालबालिका स्वयं भावुक बनेका थिए। खुसी र बिछोडको मिश्रित भावनाले कार्यक्रमलाई थप गहिरो बनाएको देखिन्थ्यो।
समग्रमा, ज्ञानकुञ्ज मन्टेश्वरीको यो कार्यक्रम केवल औपचारिकता नभई सिकाइ, संस्कार र सम्झनाको एक सुन्दर उत्सवका रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ ।





