पथरी
पथरीशनिश्चरे ३ मा दोश्रो संगीनी महोत्सब सम्पन्न भएको छ । शनिवार स्थानिय महिला जागरुक हरिकिर्तन तथा संगीनी समुहले आयोजना गरेको संगिनी महोत्सवमा लोप हुन लागेको संगीनी नाचका वारेमा चर्चा समेत गरिएको थियो । संगीनी महोत्सबमा विभिन्न समुहले संगीनी नाच प्रस्तुत गर्नका साथै संगीनी नाच बारेको कार्यपत्र समेत प्रस्तुत गरिएको थियो ।

नेपाली पुर्वेली संस्कार संगीनी नाच र यसको भाका विस्तारै हराउदै गएको तर्फ पनि चिन्ता व्याक्त गरिएको छ । महोत्सवको उदधाटनका क्रममा बोल्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री उमाकान्त गौतमले संस्कार हराए जाती र देश नै हराउने भएकाले स्थानिय महिलाहरुको समुहले सुरुवात गरेको कार्यको प्रससा गरे । गौतमले शुभकामना दिने क्रममा भने ‘यो कार्यले राज्य संन्चालनमा रहेकालाई समेत शिक्षा दिएको छ ’।
महिलाहरु विभिन्न समयमा आफ्ना वेदना सुनाउन भगवानका भक्ती सुनाउन गित गाउदै नाचिने संगीनी नाचको प्रचार प्रसार गर्न समुहले हरेक वर्ष महोत्सव आयोजना गर्दै आएको छ । सोहि महोत्सवमा पथरीशनिश्चरे ४ नम्वर वडाका वडा अध्यक्ष लोककिरण न्यौपानेले संगीनी नाच जर्गेनाका लागी आफु संधै अग्रपन्तीमा आएर आवाज उठाउने प्रतिवद्धता व्याक्त गरे ।
महोत्सवमा स्थानिय शिक्षासेवी युवराज बास्कोटाले संगीनी को जर्गेनाका लागी कार्यपत्र समेत प्रस्तुत गरेका थिए । महिला समुहले संगीनी प्रचार र प्रसारमा महत्वपुर्ण भुमीका खेलेको भन्दै संस्थापक अध्यक्ष रेनुकादेवी काफ्ले र पत्रकार तथा साहित्यकार भुपेन्द्र राज तिम्सीनालाई सम्मान समेत गरेको थियो ।
समुहले नियमीत रुपमा संगीनी प्रशिक्षण गरिरहेको छ भने विभिन्न स्थानमा आयोजना भएका कार्यक्रममा समेत संगीनी नाच प्रर्दशन गर्ने गरेको छ ।
खाजामा गुन्द्रुक देखी भुटेको मकै र उसिनेको आलु

महोत्सवमा सहभागी अतिथी देखी सहभागीहरुलाई आयोजकले स्थानिय उत्पादनकै खाजा खुवाएका थिए । खाजामा मोहि, भुटेको मकै,उसिनेको आलु र साधेको गुन्द्रुक राखीएको थियो । स्थानिय किसानले उत्पादन गरेको कृषी उत्पादनलाई नै आयोजकले खाजाका रुपमा राख्नु गज्जवको विषय भएको सहभागीहरुले बताएका थिए ।




