वाल्मीकि स्कुल : जसले हरेक वर्ष ४ जीपीएको इतिहास रच्छ

वाल्मीकि स्कुल : जसले हरेक वर्ष ४ जीपीएको इतिहास रच्छ

आधारभूत तहमा फेरि चम्किए सुजित र श्रेया

शैक्षिक क्षेत्रमा एउटा भनाइ छ— “जग बलियो भए मात्र घर दिगो हुन्छ ।” मोरङको पथरी शनिश्चरेस्थित वाल्मीकि मेमोरियल आवासीय माध्यमिक विद्यालयले यस भनाइलाई आफ्नो नतिजामार्फत चरितार्थ गरिदिएको छ। नगरपालिकाले अाज सार्वजनिक गरेको कक्षा ८ (आधारभूत तह) को नतिजामा वाल्मीकिले पुनः आफ्नो ‘दबदबा’ कायम राख्दै ४.० जीपीएको सुखद विरासतलाई निरन्तरता दिएको छ।

यस वर्षको नतिजाअनुसार वाल्मीकिबाट श्रेया कार्की र सुजित केदेमले ४ जीपीए प्राप्त गर्दै शतप्रतिशत सफलता हासिल गरेका छन् । यो नतिजा वाल्मीकिले विगतदेखि नै कक्षा ८ मा कायम राख्दै आएको ‘क्लीन स्वीप’ को एउटा अर्को कडी हो ।

विरासतको निरन्तरता : हिजो अभिप्सा, राशी र प्रतिष्ठा; आज श्रेया र सुजित

वाल्मीकिका लागि यो सफलता संयोग मात्र होइन, बरु एउटा बलियो शैक्षिक संस्कृतिको उपज हो । गत वर्ष (२०८१) को कक्षा ८ को परीक्षामा पनि विद्यालयले उल्लेख्य सफलता प्राप्त गरेको थियो। त्यतिबेला अभिप्सा विष्ट, राशी कार्की र प्रतिष्ठा खत्रीले ४ जीपीए ल्याएर नगरमै उत्कृष्ट नतिजा दर्ता गराएका थिए। यस वर्ष पुनः श्रेया र सुजितले सोही गौरवमय यात्रालाई पछ्याउँदै ४.० जीपीए ल्याउन सफल भएका छन्।

विद्यालयका प्रिन्सिपल चन्द्रप्रसाद दुलाल यसलाई विद्यार्थीको मिहिनेत र विद्यालयको सही मार्गदर्शनकाे रूपमा व्याख्या गर्नुहुन्छ। उहाँ भन्नुहुन्छ, “हामीले आधारभूत तहदेखि नै विद्यार्थीको जग बलियो बनाउन विशेष रणनीति अपनाएका छौँ । गत वर्षका ३ जना र यस वर्षका २ जनाले ल्याएको ४.० जीपीएले हाम्रो शिक्षण पद्धति सही मार्गमा रहेको पुष्टि गर्छ ।”

त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नोवलकिशोर खनालले विद्यालयको वातावरणले नै यस्तो नतिजा सम्भव भएको बताउनुभयो । उहाँले थप्नुभयो, “वाल्मीकिले नतिजामा सधैँ उत्कृष्टता खोज्छ। धेरै विद्यार्थी सहभागी हुँदा पनि गुणस्तरमा सम्झौता नगर्ने हाम्रो प्रयासको प्रतिफल नै आज श्रेया र सुजितहरूले देखाउनुभएको छ।”

बलियो आधार, एसईईमा चामत्कारिक नतिजा

कक्षा ८ बाटै जग बलियो बनाउँदै लैजाँदा त्यसको प्रत्यक्ष प्रभाव माथिल्ला कक्षाहरूमा पर्ने देखिएको छ। यसैको पछिल्लो उदाहरण हो— एसईई २०८१ को नतिजा

कक्षा ८ मा उत्कृष्ट नतिजाको इतिहास बनाएको वाल्मीकिले एसईईमा पनि जिल्लाकै ध्यानाकर्षण गराउन सफल भएको छ। जिल्ला राजधानीभन्दा बाहिर रहेर पनि विद्यालयका विद्यार्थीद्वय आयुश्मा दाहाल र निश्चल न्यौपानेले एसईईमा ४.० जीपीए हासिल गरी सर्वोत्कृष्ट नतिजा निकालेका छन्।

यसरी आधारभूत तह (कक्षा ८) मा ४.० जीपीएको जग बसालेको वाल्मीकिले एसईईमा समेत इतिहास रच्दै आफूलाई मोफसलकै एक अब्बल शैक्षिक गन्तव्यका रूपमा उभ्याएको छ।

सम्बन्धित खवर