पथरी (मोरङ) / पथरी शनिश्चरे नगरपालिकाले अाज सार्वजनिक गरेको शैक्षिक वर्ष २०८२ को आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८) को नतिजामा एभरेस्ट इङ्लिस बोर्डिङ स्कुलले ४ जिपिएकाे उत्कृष्ट नतिजा ल्याएकाे छ। यस विद्यालयका विद्यार्थी सुलभ तिम्सिनाले ४ जीपीए प्राप्त गर्दै विद्यालयको साख उच्च राखेका हुन् ।
विशेष कुरा त के छ भने एभरेस्ट स्कुलका लागि यो सफलता नयाँ भने होइन। विद्यालयले गत वर्ष पनि १ जना विद्यार्थीले ४ जीपीए नै ल्याउन सफल भएको सुखद इतिहासलाई यस वर्ष पनि निरन्तरता दिएको छ। यस विद्यालयबाट गत वर्ष लादिप्मा राइले ४ जिपिए ल्याएकी थिइन् ।

मेहनतको फल: प्रिन्सिपल र निर्देशकको उत्साह
विद्यालयको यो सफलताप्रति खुसी व्यक्त गर्दै प्रिन्सिपल कमल तिम्सिनाले विद्यार्थीको कडा परिश्रम र शिक्षकहरूको सही मार्गदर्शनले नै यो उपलब्धि सम्भव भएको बताउनुभयो। उहाँले भन्नुभयो, “हामी केवल शिक्षा मात्र दिँदैनौँ, विद्यार्थीको क्षमता पहिचान गरी उनीहरूलाई उत्कृष्ट नतिजाका लागि प्रेरित गर्छौँ। सुलभको यो सफलताले सम्पूर्ण विद्यालय परिवार गौरवान्वित भएको छ।”
त्यस्तै विद्यालयका निर्देशक रविन कन्दङ्वाले गुणस्तरीय शिक्षामा विद्यालयले कहिल्यै सम्झौता नगर्ने बताउनुभयो। कन्दङ्वाले थप्नुभयो, “पालिकाले अन्तरविद्यालय परीक्षा केन्द्रसहित पूर्ण निगरानीमा परीक्षा लिन थालेकाे दुई वर्षमा लगातार ४ जीपीए हासिल गर्नुले हाम्रो शिक्षण पद्धति र उत्कृष्ट वातावरणलाई प्रमाणित गरेको छ। आगामी दिनमा पनि हामी शैक्षिक गुणस्तरलाई अझै उचाइमा पुर्याउने प्रण गर्दछौँ।”
नगरपालिकाले सार्वजनिक गरेको विवरण अनुसार एभरेस्ट बोर्डिङ स्कुलबाट यस पटक सहभागी कुल ९२ जनामा ४ जिपिएसहित अधिकांश विद्यार्थीले सम्मानजनक जीपीए सहित उत्कृष्टता हासिल गरेका छन्।
नगरपालिकाले सार्वजनिक गरेको कुल १,४८२ परीक्षार्थीमध्ये एभरेस्टका विद्यार्थीले हासिल गरेको यो अङ्क नगरपालिकाभरिकै उत्कृष्टमध्येको एक हो। सुलभको सफलतासँगै अभिभावकहरूले समेत विद्यालयको व्यवस्थापन र शैक्षिक वातावरणको प्रशंसा गरेका छन्।




