महिला स्वास्थ्यलाई प्राथमिकता : पथरी शनिश्चरेका ७ र १० नम्बर वडामा पनि शिविर

महिला स्वास्थ्यलाई प्राथमिकता : पथरी शनिश्चरेका ७ र १० नम्बर वडामा पनि शिविर

गाउँघरमा अझै पनि महिलाहरू प्रजनन् स्वास्थ्यका समस्या लुकाएर बस्न बाध्य छन् । कतिपयलाई आर्थिक अभाव त कतिपयलाई लाज वा सङ्कोचले अस्पतालसम्म पुग्न रोकिरहेको हुन्छ। तर, पथरी शनिश्चरे नगरपालिकाले यस्तै समस्यामा रहेका महिलालाई लक्षित गर्दै उनीहरूकै आँगनमा स्वास्थ्य सेवा पुर्‍याएको छ।

हिजाे पथरीशनिश्चरे-६ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा महिलाहरूका लागि निःशुल्क प्रजनन स्वास्थ्य शिविर सुरु भएको छ। नगर प्रमुख मोहनप्रसाद तुम्बापोले एक समारोहकाबिच शिविरको औपचारिक उद्घाटन गर्नुभयाे ।

स्वास्थ्य नै मुख्य प्राथमिकता

नगर प्रमुख तुम्बापोले उद्घाटन मन्तव्यका क्रममा महिला स्वास्थ्यलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको बताउनुभयाे । उहाँले भन्नुभयाे- “महिलाको प्रजनन् स्वास्थ्य संवेदनशील विषय हो। लाज वा सङ्कोच नमानी स्वास्थ्य जाँच गराउन म सबैमा आग्रह गर्दछु। समयमै गरिने जाँच र सचेतनाले ठुला र घातक रोगलाई बेलैमा नियन्त्रण गर्न सकिन्छ ।”

उहाँले नगरपालिकाले स्वास्थ्य सेवामा आम नागरिकको पहुँच विस्तार गर्न यस्ता कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

विशेषज्ञ सेवा र परामर्श

आधारभूत स्वास्थ्य केन्द्र वडा नं. ६ का प्रमुख चन्द्र राजवंशीका अनुसार शिविरमा महिलाहरूको जटिल मानिने विभिन्न समस्याहरूको परीक्षण भइरहेको छ। शिविरमा विशेषगरी आङ खस्ने समस्या, पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ, स्तन क्यान्सर परीक्षण, प्रसव–फिस्टुला तथा निःसन्तानपनका समस्यासम्बन्धी विशेषज्ञ परामर्श र स्वास्थ्य परीक्षण सेवा पूर्ण रूपमा निःशुल्क उपलब्ध गराइएको छ।

उत्साहजनक उपस्थिति

वडा नं. ६ का अध्यक्ष कृष्णकुमार बस्नेतको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगर उपप्रमुख देवीमाया काफ्ले, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, स्वास्थ्य अधिकृत एकराज खत्री तथा वडा नं. १० का अध्यक्ष जीवन खतिवडा लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा स्थानीय महिलाहरूको उल्लेखनीय सहभागिताले स्वास्थ्यप्रतिको बढ्दो चासोलाई प्रस्ट पारेको थियो।

अभियानकाे निरन्तरता

हिजाे वडा नं. ६ बाट सुरु भएको यो स्वास्थ्य अभियान अन्य वडाहरूमा पनि विस्तार हुँदैछ। नगरपालिकाका अनुसार अाज शुक्रबार वडा नं. ७ मा र भाेलि  शनिबार वडा नं. १० स्थित शरणार्थी शिविरमा सञ्चालन हुने बताइन्छ ।

सम्बन्धित खवर