विराटनगर, मोरङ — नेपाल प्रहरीले भन्सार छली गरी ल्याइएका विभिन्न अवैध पेय पदार्थ बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले जारी गरेको प्रेस विज्ञप्तिअनुसार सुनवर्षी नगरपालिका–२ अमरदह बजार क्षेत्रबाट ठूलो मात्रामा सामान फेला परेको हो।
प्रहरीका अनुसार चैत २५ गते दिउँसो करिब २ बजे विशेष सूचनाका आधारमा खटिएको टोलीले भारतबाट भन्सार छली गरी ल्याइएका कोक, माउन्टेन ड्यू, स्प्राइट र पेप्सी लगायतका पेय पदार्थहरू बरामद गरेको हो। ती सामान स्थानीय पसल सञ्चालक पारस साहले आफ्नै घर पसलमा गोदाम बनाएर लुकाई राखेको अवस्थामा फेला परेको मोरङ प्रहरीले जनाएको छ।

बरामद गरिएका सामानहरूमा विभिन्न साइजका कोक, माउन्टेन ड्यू, स्प्राइट र पेप्सीका कूल १०० भन्दा बढी कार्टुन रहेका छन्। ती सामानको अनुमानित मूल्य करिब रु. १ लाख ४५ हजार २ सय रहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न पारस साहलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय रानी, विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। प्रहरीले भन्सार छली तथा अवैध कारोबार नियन्त्रणका लागि यस्ता निगरानी र कारबाहीलाई निरन्तरता दिने जनाएको छ।





