यही चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म सञ्चालन हुने १४औँ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ। विष्णुपादुका क्लब, हेमजाले शनिबार महोत्सव मूल आयोजक समितिका संयोजक तथा क्लब अध्यक्ष वसन्तकुमार श्रेष्ठको अध्यक्षतामा तयारी विशेष भेला सम्पन्न गरेको हो।
भेलामा मूल आयोजक समिति तथा विभिन्न उपसमितिका संयोजक, सदस्यहरू, सरोकारवाला निकायका प्रतिनिधि तथा स्थानीयहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा हालसम्म भएका तयारीका कामहरूको प्रगति विवरण प्रस्तुत गरिएको थियो।

छलफलका क्रममा महोत्सवलाई सफल बनाउन सबै क्षेत्रबाट सकारात्मक सहयोग र सद्भाव प्राप्त भइरहेको निष्कर्ष निकालिएको छ। साथै, आगामी २०८२ चैत २३ गते दिउँसो १ बजे विष्णुपादुका खेलमैदानस्थित क्लब भवन प्राङ्गणमा पत्रकार सम्मेलन आयोजना गर्ने निर्णय समेत गरिएको छ।
कार्यक्रममा बोल्दै संयोजक श्रेष्ठले हेमजा आलु महोत्सव पोखराको मात्र नभई राष्ट्रिय स्तरमै स्थापित ब्रान्ड बनिसकेको उल्लेख गरे। उनले महोत्सवमार्फत कृषकलाई प्रोत्साहन गर्नुका साथै हेमजामा उत्पादित आलु तथा ताजा तरकारीको प्रचारप्रसार गर्ने उद्देश्य रहेको बताए। साथै, हेमजालाई व्यावसायिक कृषि पर्यटन क्षेत्रका रूपमा चिनाउने, क्लब भवन निर्माण, तरकारी सङ्कलन तथा बिक्री वितरण केन्द्र स्थापना र विष्णुपादुका बहुउद्देश्यीय भवन निर्माणलाई पूर्णता दिने लक्ष्य रहेको जानकारी दिए।
त्यसैगरी, पूर्व अध्यक्ष रमेश कार्की र निवर्तमान अध्यक्ष सुबिन श्रेष्ठले विगतका महोत्सवका अनुभवबाट सिक्दै कमजोरी सुधार गर्न र नयाँपन झल्कने कार्यक्रमहरूलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।
‘सुन्दर ठाउँ हेमजा जाऔँ, आलुका स्वादिष्ट परिकार खाऔँः आलु एक परिकार अनेक’ भन्ने मूल नारासहित आयोजना हुने महोत्सवमा आलु तथा ताजा तरकारीको बृहत् प्रदर्शन, आलुको पहाड निर्माण, विभिन्न आलुका परिकार, माटो तथा बोटबिरुवा परीक्षण, रोग निदान सेवा लगायतका कार्यक्रम रहनेछन्।
यसका अतिरिक्त कृषि तथा सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरूको प्रस्तुति, कृषक सम्मान तथा विभिन्न कृषि उपज, बीउविजन र कृषि यन्त्रहरूको प्रदर्शनी समेत महोत्सवका मुख्य आकर्षण रहने आयोजकले जनाएको छ।
कार्यक्रमको सञ्चालन सचिव विकल थापाले गरेका थिए।




