पथरी/ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न सामाजिक सञ्जालमा प्रवाह भइरहेको ‘शैक्षिक संस्थाहरूमा दुई दिने सार्वजनिक बिदा’ सम्बन्धी सूचना पूर्ण रूपमा गलत र भ्रमपूर्ण रहेको स्पष्ट पारेको छ।
मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै मिति २०८२/१२/१७ गतेको मिति उल्लेख गरी सामाजिक सञ्जालमा फैलिएको उक्त सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
भ्रामक सूचनाको खण्डन
विभिन्न माध्यममा प्रत्येक हप्ताको शनिबार र आइतबार दुई दिन शैक्षिक संस्थाहरू पूर्ण रूपमा बन्द रहने भनी मन्त्रालयको निर्णय भन्दै प्रचार गरिएको थियो। उक्त सूचनामा उल्लेख गरिएका कारण र उद्देश्यहरू काल्पनिक भएको भन्दै मन्त्रालयले त्यसमा कुनै सत्यता नभएको प्रष्ट पारेको छ।
विज्ञप्तिमा भनिएको छ, “मन्त्रालयको नाम उल्लेख गरी प्रवाह भएको उक्त कपोलकल्पित र भ्रामक सूचनामा कुनै सत्यता नभएको ब्यहोरा सम्बन्धित सबै शैक्षिक संस्था तथा आम सरोकारवालाहरूमा अनुरोध छ।”
कानुनी कारबाहीको चेतावनी
मन्त्रालयले सरकारी कागजात, छाप र हस्ताक्षरको दुरुपयोग गरी गलत सन्देश फैलाउने कार्यलाई गम्भीर अपराधको रूपमा लिएको छ। यस्तो मिथ्या सूचना सम्प्रेषण गर्ने व्यक्तिको पहिचान गरी प्रचलित कानुन बमोजिम कडा कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई अनुरोध समेत गरिएको छ।
मन्त्रालयका सहसचिव एवम् प्रवक्ता शिवकुमार सापकोटाद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा आधिकारिक स्रोतबाट पुष्टि नभएका सूचनाहरूको पछि नलाग्न विद्यार्थी, अभिभावक र विद्यालय प्रशासनलाई सचेत गराइएको छ।





