चैत्राष्टमीको अवसरमा परियार समाजलाई नौमति बाजा हस्तान्तरण

चैत्राष्टमीको अवसरमा परियार समाजलाई नौमति बाजा हस्तान्तरण

चैत्राष्टमीको पावन अवसरमा कास्की जिल्लाको पोखरा महानगरपालिका–३३ स्थित परियार समाजलाई नौमति बाजा (पञ्चेबाजा) हस्तान्तरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

गण्डकी प्रदेश सरकारअन्तर्गत सामाजिक विकास, युवा तथा खेलकूद मन्त्रालयका माननीय मन्त्री विन्दु कुमार थापाज्यूको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा मन्तव्य राख्दै मन्त्री थापाले परियार समुदायको मौलिक सांस्कृतिक पहिचान संरक्षण तथा प्रवर्द्धनका लागि यस्ता पहलहरू अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो। उहाँले पञ्चेबाजा नेपाली संस्कृति र परम्परासँग गहिरो रूपमा जोडिएको अमूल्य सम्पदा भएको उल्लेख गर्दै यसको संरक्षणले समुदायको आत्मसम्मान र पहिचानलाई थप मजबुत बनाउने धारणा व्यक्त गर्नुभयो।

सामाजिक विकास, युवा तथा खेलकूद मन्त्रालयअन्तर्गत एकीकृत सेवा कार्यालय कास्कीमार्फत हस्तान्तरण गरिएको उक्त बाजाले परियार समुदायको परम्परागत सीपलाई सशक्त बनाउनुका साथै नयाँ पुस्तामा सांस्कृतिक चेतना अभिवृद्धि गर्ने विश्वास लिइएको छ। साथै, यसले परम्परागत कला संरक्षणसँगै आयआर्जनका अवसरहरू समेत विस्तार गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रमका आयोजकहरूले सहयोगका लागि मन्त्री थापाप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्ता सहयोग र सहकार्यहरू निरन्तर रहने विश्वास व्यक्त गरेका थिए। मन्त्रालयले समावेशी विकास, सीपमूलक सशक्तीकरण तथा समुदायको सम्मानजनक सहभागिता सुनिश्चित गर्न आफूहरू सधैं प्रतिबद्ध रहेको जनाउँदै यस्ता कार्यक्रमहरूलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा विस्तार गर्दै लैजाने लक्ष्य लिएको छ।

सम्बन्धित खवर