कास्की जिल्लामा मानव बेचबिखन तथा ओसारपसार विरुद्ध स्थानीय स्तरमै सशक्त पहलहरू अघि बढ्न थालेका छन्। यसै क्रममा बाल तथा महिला सशक्तिकरण समाज–नेपाल, कास्कीको आयोजनामा पोखरा महानगरपालिका–३३, बाघमारामा मानव बेचबिखन तथा ओसारपसार विरुद्ध स्थानीय समिति गठन कार्यक्रम सम्पन्न भएको छ।
चैत्र ८ गते आइतबार आयोजित उक्त कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसार जस्ता गम्भीर सामाजिक अपराधहरूको नियन्त्रण र न्यूनीकरणका लागि स्थानीय तहमा समन्वय, सहकार्य र सक्रिय सहभागिता अत्यन्त आवश्यक रहेकोमा जोड दिइएको थियो। वडा कार्यालय–३३ को समन्वयमा सम्पन्न कार्यक्रम गुड शेफर्ड अन्तर्राष्ट्रिय प्रतिष्ठानको सहयोग तथा यौन शोषण, मानव बेचबिखन तथा मानवताविरुद्धका अत्याचार विरुद्ध क्रियाशील अभियानको सहकार्यमा सञ्चालन गरिएको हो।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय तथा समुदायका प्रतिनिधिहरूको सक्रिय सहभागितामा १३ सदस्यीय स्थानीय समिति गठन गरिएको छ। समितिमा वडा अध्यक्ष संयोजक रहने व्यवस्था गरिएको छ भने महिला प्रतिनिधि, महिला सञ्जाल, बाल संरक्षण समिति, प्रहरी, पत्रकार, स्वास्थ्य स्वयंसेविका लगायतका सदस्यहरू समावेश गरिएका छन्। साथै, प्रभावित व्यक्तिहरूलाई समेत समेटेर समावेशी संरचना तयार गरिएको छ।
नवगठित समितिले मानव बेचबिखन विरुद्ध जनचेतना अभिवृद्धि गर्ने, जोखिममा रहेका समूहहरूको संरक्षण गर्ने, उद्धार तथा पुनर्स्थापनामा सहयोग गर्ने र सम्बन्धित निकायहरूसँग समन्वय गरी आवश्यक कदम चाल्ने विश्वास लिइएको छ। साथै, उद्धार गरिएका व्यक्तिहरूको पहिचान खुल्ने कागजात निर्माणमा सिफारिस गर्ने, पुनर्स्थापना केन्द्रहरूको अनुगमन गर्ने तथा नियमित बैठक, अभिलेख व्यवस्थापन र प्रतिवेदन पेश गर्ने जिम्मेवारी समेत समितिले वहन गर्नेछ।
यसैबीच, कास्की जिल्लामा मानव बेचबिखन नियन्त्रणका लागि सञ्चालनमा रहेको ‘आस्था परियोजना’ प्रभावकारी बन्दै गएको छ। बाल तथा महिला सशक्तिकरण समाज नेपाल (CWES), कास्कीको पहलमा “Acting Against Sexual Exploitation, Trafficking and Human Atrocity” अन्तर्गत सञ्चालित यस परियोजनाले पोखरा महानगरपालिकाका सबै ३३ वडामा यस्ता स्थानीय समिति गठन गरिसकेको छ।
परियोजनाको मुख्य उद्देश्य मानव बेचबिखन नियन्त्रण गर्नुका साथै जोखिममा रहेका व्यक्तिहरूको उद्धार, पुनर्स्थापना तथा आत्मनिर्भरता अभिवृद्धि गर्नु रहेको छ। यसका लागि पीडित तथा प्रभावित व्यक्तिहरूलाई सीपमूलक तालिम, आर्थिक सहयोग तथा जीविकोपार्जनमा सहयोग उपलब्ध गराइँदै आएको छ।
वि.सं. २०५५ सालमा स्थापना भएको बाल तथा महिला सशक्तिकरण समाज नेपाल, कास्की महिलाद्वारा सञ्चालित एक गैरसरकारी संस्था हो। संस्थाले महिला सशक्तिकरण, सामाजिक न्याय, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लामो समयदेखि महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
कार्यक्रममा वक्ताहरूले मानव बेचबिखन नियन्त्रणका लागि समुदायस्तरबाटै सक्रिय भूमिका आवश्यक रहेको औंल्याउँदै यस्ता पहलहरूले दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए। स्थानीय तहमा आधारित यस्ता कार्यक्रमहरूले मानव बेचबिखन नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।




