पथरीशनिश्चरे, मोरङ — पथरीशनिश्चरे नगरपालिकाको शैक्षिक इतिहासमा हिरक आधारभूत विद्यालयले आफ्नो नाम स्वर्णिम अक्षरले लेख्न सफल भएको छ। नगरपालिकाभरिका सामुदायिक र संस्थागत गरी कुल ३७ वटा विद्यालयका प्रतिभावान विद्यार्थीहरूलाई पछि पार्दै हिरक आधारभूत विद्यालयले ‘विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम २०८२’ मा अाधारभूत तहकाे नृत्यतर्फ सर्वोत्कृष्ट स्थान हासिल गरेको हो ।
नगरका ठुला र नाम चलेका भनिएका विद्यालयहरूको कडा प्रतिस्पर्धाबिच पनि हिरक आधारभूत विद्यालयका कक्षा ७ का छात्र छेवाङ तामाङले आफ्नो जादुमयी नृत्य कला प्रदर्शन गर्दै नगरभरिमै प्रथम स्थान हासिल गरेका छन् । सम्पूर्ण सहभागीहरूमाझ छेवाङको प्रस्तुति निर्णायक र दर्शक दुवैका लागि आकर्षक बनेको थियो ।
यस ऐतिहासिक जितसँगै विद्यालयले रु. ७,००० नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेको छ। पुरस्कार राशि नगरपालिकाले सिधै विद्यार्थीको बैङ्क खातामा उपलब्ध गराउने व्यवस्था गरेको छ।
“हाम्रा लागि यो एउटा ठूलो सपना पूरा भए जस्तै हो” — प्र.अ. कविता तिम्सिना भण्डारी

विद्यालयको यो अभूतपूर्व सफलतामा हर्षित हुँदै प्रधानाध्यापक कविता तिम्सिना भण्डारीले भन्नुभयो : “यति ठुलो प्रतिस्पर्धामा हाम्रो सानो विद्यालयले प्रथम स्थान हासिल गर्नु हाम्रा लागि गौरवको विषय हो। यो सफलताले के प्रमाणित गरेको छ भने अवसर पाएमा आधारभूत तहका विद्यार्थीहरूले पनि ठुलो उपलब्धि हासिल गर्न सक्छन्। यो जित विद्यार्थीको मेहेनत, शिक्षकहरूको लगाब र अभिभावकहरूको विश्वासको प्रतिफल हो।”
पञ्चायत माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज बास्कोटा (यज्ञ)को अध्यक्षतामा भएको सामापन कार्यक्रममा नगर प्रमुख मोहनप्रसाद तुम्वापो, वडाध्यक्षहरू जीवन खतिवडा, भीमकुमार राई, नगर स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, नगर शिक्षा शाखा प्रमुख नवीन खुलाल, शिक्षा अधिकृत बिना मिश्र, प्याव्सन नगर अध्यक्ष सन्तोष बस्नेत, पञ्चायत माविका प्रधानाध्यापक तथा नेपाल शिक्षक महासड्घका अध्यक्ष अर्जुनकुमार बुढाथोकी, सामुदायिक तथा निजी विद्यालयका प्रधानाध्यापकहररू, वि.व्य.स.अध्यक्ष तथा सदस्यहरू लगायतका अतिथिहरुको उपस्थितिमा पुरस्कार प्रदान गरियाे ।
नगरपालिकाको एउटा उदाहरणीय प्रयास
पञ्चायत माविको प्राङ्गणमा तीन दिनसम्म सञ्चालित प्रतिभा पहिचान कार्यक्रम केवल एक प्रतियोगिता मात्र नभई विद्यार्थीहरूका लागि किताबी ज्ञानभन्दा बाहिरको संसारमा आफ्नो क्षमता देखाउने एउटा उत्कृष्ट प्लेटफर्म बनेको छ। नगरका सबै विद्यालयका सहभागीहरूका बीचमा भएको यो प्रतिस्पर्धाले पथरीशनिश्चरे नगरपालिकाको शैक्षिक र सिर्जनात्मक उचाइलाई थप उँचो बनाएको छ। हिरक आधारभूत विद्यालयले प्राप्त गरेको यो सफलताले अन्य साना विद्यालयहरूलाई पनि आगामी दिनमा थप हौसला र प्रेरणा प्रदान गर्ने निश्चित छ। (केशव भारद्वाज)




