लेखनाथ कायो क्योकुशिन कान कराते डोजो आफ्नो स्थापनाको सत्रौँ वर्षमा प्रवेश गरेको छ। उक्त अवसरमा डोजोले आइतबार भव्य कार्यक्रमको आयोजना गर्दै स्थापना दिवस तथा बेल्ट वितरण समारोह सम्पन्न गरेको हो।
कार्यक्रमका प्रमुख अतिथि लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा समाजसेवी छत्रधर आत्रेयले खेलकुदको समग्र विकासका लागि संघ, प्रदेश र स्थानीय तहका सरकारसहित समुदायका सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो। उहाँले खेलकुदले व्यक्तिको अनुशासन, स्वास्थ्य र व्यक्तित्व विकासमा सकारात्मक तथा आमूल परिवर्तन ल्याउने भएकाले खेल क्षेत्रलाई थप प्रोत्साहन गर्न आवश्यक रहेको बताउनुभयो।
त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदारले खेलकुद विद्यार्थीहरूका लागि मात्र नभई सबै उमेर समूहका मानिसहरूका लागि पनि महत्वपूर्ण भएको उल्लेख गर्नुभयो। उहाँले पुरस्कार वा प्रतिस्पर्धाभन्दा पनि आफ्नै स्वास्थ्य, तन्दुरुस्ती र अनुशासनका लागि खेलकुदमा सहभागी हुन आग्रह गर्नुभयो।
कार्यक्रममा पोखरा महानगरपालिका–२९ का वडा सदस्य कालिदास पोखरेल, आदर्श युवा क्लबका अध्यक्ष पदम गुरुङ, निवर्तमान वडा अध्यक्ष चेतबहादुर गुरुङलगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै डोजोले खेलकुद विकासमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्नुभएको थियो।
सोही अवसरमा करातेमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई ब्राउन बेल्ट, ब्ल्याक बेल्ट तथा ट्रफी प्रदान गर्दै सम्मान गरिएको थियो।
लेखनाथ कायो क्योकुशिन कान कराते डोजोका अध्यक्ष सुभाष खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सचिव विनोद नेगीले गर्नुभएको थियो।




