पञ्चायत माविको दोहोरो सफलता : व्यवस्थापनमा अब्बल, नतिजामा नगरकै प्रथम

पञ्चायत माविको दोहोरो सफलता : व्यवस्थापनमा अब्बल, नतिजामा नगरकै प्रथम

नृत्य र चित्रकलामा वर्चस्व : प्रतिभासँगै नगद पुरस्कारको वर्षा

पथरीशनिश्चरे, मोरङ – २०३६ सालमा स्थापित पथरीशनिश्चरे–१ मा रहेकाे नमुना घाेषित  पञ्चायत माध्यमिक विद्यालयले नगरस्तरीय ‘विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम २०८२’ मा आफ्नो स्वर्णिम उपस्थिति जनाएको छ। पथरीशनिश्चरे नगरपालिका, शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा फागुन २९ देखि चैत्र १ सम्म सञ्चालित यस बृहत् प्रतिस्पर्धामा पञ्चायत माविले एकातिर कुशल व्यवस्थापनको जिम्मेवारी पूरा गरेकाे छ भने अर्कोतिर आफ्ना विद्यार्थीहरूको असाधारण प्रतिभामार्फत नगद पुरस्कारको समेत ओइरो लगाउन सफल भएकाे छ ।

नृत्य र चित्रकलामा नगरकै प्रथम: सुजता र सलिनाको सान

प्रतियोगिताको सबैभन्दा आकर्षणको केन्द्र रहेको माध्यमिक तह स्तरीय एकल नृत्यमा पञ्चायत माविकी कक्षा १० की छात्रा सुजता घिसिङले ‘शिरैदेखि शिवानी..’ बोलको गीतमा अद्वितीय प्रस्तुति दिँदै प्रथम स्थान हासिल गरिन्। यसैगरी माध्यमिक तहकै चित्रकला विधामा कक्षा १२ ललितकला समूहकी छात्रा सलिना माझीले आफ्नो कलात्मक जादु देखाउँदै नगरमै प्रथम स्थान ओगटिन् ।

चित्रकलामा प्रथम हुने विद्यार्थीकाे साथमा प्रधानाध्यापक

नगरपालिकाले यी विधामा प्रथम हुने सुजतालाई रु. ७,००० र सलिनालाई रु. ६,००० नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरेको छ।

विज्ञान र सङ्गीतमा पनि पुरस्कारको वर्षा

कलामा मात्र नभएर पञ्चायत माविले विज्ञान र गायनमा पनि उत्तिकै प्रभाव जमायो। विज्ञान प्रदर्शनीमा टोली संयोजक शिक्षक निरज ढकालको नेतृत्वमा रक्षा लिम्बू, सम्राट थापा, कृष भट्टराई र प्रिन्स दुलालको टोलीले द्वितीय स्थान हासिल गर्दै रु. ८,००० नगद पुरस्कारसहित प्रमाणपत्र र उपाधि जित्यो ।

त्यस्तै, आधारभूत तहको एकल गायनमा ‘अब यो बाटो..’ गीतबाट कक्षा ८ का आदर्श धितालले द्वितीय स्थान प्राप्त गरी रु. ५,००० र आधारभूत तहकै हस्तलेखन (छात्रातर्फ) कक्षा ५ की कुसाङ तामाङले तृतीय स्थान सुरक्षित गर्दै रु. २,००० प्राप्त गरिन्।

यी सबै पुरस्कार राशि सम्बधित विद्यार्थी तथा अभिभावककाे बैङ्क  खातामार्फत प्रदान गरिएको जानकारी नगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नवीन खुलालले दिनुभएको छ।

विद्यालयको तर्फबाट थप प्रोत्साहन

नगरपालिकाले प्रदान गरेको पुरस्कारका अतिरिक्त विद्यालयको तर्फबाट पनि विद्यार्थीहरूलाई विशेष सम्मानको घोषणा गरिएको छ। नेपाल शिक्षक महासङ्घका नगर अध्यक्ष एवम् पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले विभिन्न विधामा प्रथम हुने आफ्ना विद्यार्थीहरूलाई थप प्रोत्साहन स्वरूप विद्यालयको तर्फबाट जनही रु. ५,००० प्रदान गर्ने उद्घोष गर्नुभएको छ।

नगरपालिकाले प्रदान गरेको पुरस्कारबाहेक विद्यालयको तर्फबाट थप प्रोत्साहनको घोषणा गर्दै प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले भन्नुभयो: “हाम्रा विद्यार्थीहरूले प्रदर्शन गरेको यो प्रतिभा केवल एक प्रतिस्पर्धाको नतिजा मात्र होइन, यो उनीहरूको भविष्यको सफल यात्राको जग हो । संयाेजक विद्यालयको रूपमा कार्यक्रम सफल पार्नु र हाम्रा विद्यार्थीले यति धेरै विधामा नगरमै उत्कृष्ट हुनु हाम्रा लागि दोहोरो गौरवको विषय हो। विभिन्न विधामा प्रथम हुने आफ्ना विद्यार्थीहरूलाई विद्यालयको तर्फबाट थप प्रोत्साहन स्वरूप जनही रु. पाँचा हजार प्रदान गर्नेछौँ। पञ्चायत मावि विद्यार्थीको सर्वाङ्गीण विकासका लागि सधैँ प्रतिबद्ध छ।”

कुशल व्यवस्थापन र भव्य समारोह

पञ्चायत माविको प्राङ्गणमा भएको यस कार्यक्रमको सभापतित्व व्यवस्थापन समिति अध्यक्ष यज्ञप्रसाद बाँस्कोटा (युवराज) ले गर्नुभएको थियो भने नगरप्रमुख मोहनप्रसाद तुम्बापो मुख्य अतिथिको रूपमा रहनुभएको थियो। कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख नवीन खुलाल, विना मिश्र र पञ्चायत माविका अङ्ग्रेजी विषय शिक्षक नरेशकुमार राईले कुशलतापूर्वक गर्नुभएको थियो।

स्मरण रहोस्, यसअघि पनि पञ्चायत माविको संयोजनमा ‘राष्ट्रपति रनिङ सिल्ड’ प्रतियोगिता विद्यालयकै प्राङ्गणमा भव्य रूपमा सम्पन्न भएको थियो। यसले विद्यालयको ४६ वर्ष लामो इतिहास र प्रशासनिक दक्षतालाई फेरि एकपटक प्रमाणित गरेको छ।

मेधावी नक्षत्रहरूलाई नगदसहित सम्मान

शैक्षिक सत्र २०८१ मा नगरभरका सामुदायिक विद्यालयमा उत्कृष्ट नतिजा (GPA) ल्याउने पञ्चायत माविकै कक्षा ८ का विद्यार्थीहरू ललिना बस्नेत (3.84 जिपिए) र अडचन्द्र राई (3.81 जिपिए) तथा कक्षा १० (एसइइ) मा सर्वाेत्कृष्ट नतिजा ल्याउने संविधान लिम्बू (3.96 जिपिए) र अमूल्य घिमिरे (3.96 जिपिए) लाई पनि कार्यक्रम उद्घाटनकै दिन विशेष सम्मान गरिएकाे छ ।

अमूल्य घिमिरे र संविधान लिम्बू पुरस्कार ग्रहण गर्दै

यस्तै २०८२ सालकाे कक्षा १२ काे वार्षिक परीक्षामा सहभागी भएर सामुदायिक विद्यालयतर्फ सर्वाेत्कृष्ट नतिजा ल्याउने युगलकिशोर दाहाल (3.88 जिपिए) र श्रुतिकुमारी मल्लिक (3.73 जिपिए) लाई पनि नगदसहित सम्मान गरिएको छ । मेधावी विद्यार्थीले जनही नगद रू. पाँच हजारदेखि सात हजारसम्म प्राप्त गरेकाे पञ्चायत प्रशासनले जानकारी दिएकाे छ ।

तीन दिनसम्म चलेको प्रतिभा पहिचान तथा विद्यार्थी प्राेत्साहन कार्यक्रमले विद्यार्थीहरूलाई किताबी ज्ञानभन्दा बाहिर निस्किएर व्यावहारिक सीप सिक्ने प्लेटफर्म दिएको छ। पञ्चायत माविको सुन्दर व्यवस्थापन र नगरपालिकाको सह्रानीय पहलले गर्दा पथरीशनिश्चरेको शैक्षिकस्तरमा नयाँ इँटा थपिएको छ।

एउटा पृथक् पहिचान र नगरकाे उदाहरणीय अभ्यास

तीन दिनसम्म चलेको यो ‘प्रतिभा पहिचान तथा विद्यार्थी प्रोत्साहन कार्यक्रम’ पथरीशनिश्चरे नगरपालिकाको एउटा पृथक् पहिचान बोकेको कार्यक्रम बनेको छ। यो केवल एउटा प्रतियोगिता मात्र नभएर विद्यार्थीहरूलाई किताबी ज्ञानभन्दा बाहिर निस्किएर व्यावहारिक सिप सिक्ने र आफ्नो क्षमता प्रदर्शन गर्ने एउटा सशक्त प्लेटफर्म साबित हुँदै गएकाे सराेकारवालाले प्रतिक्रिया दिएका छन् ।

यस वर्ष पनि नगरपालिकाको यो सह्रानीय पहल र पञ्चायत माविको सुन्दर व्यवस्थापनले गर्दा पथरीशनिश्चरेको शैक्षिकस्तरमा एउटा नयाँ इँटा थपिएको छ। शिक्षामा रचनात्मकता भर्ने यो अभियान अन्य पालिकाहरूका लागि पनि अनुसरण योग्य र उदाहरणीय मोडेल बन्न सक्ने देखिन्छ । (केशव भारद्वाज)

सम्बन्धित खवर