पथरीशनिश्चरे, मोरङ — विद्यार्थीहरूभित्र लुकेको सृजनशीलता र वैज्ञानिक चेतलाई उजागर गर्ने उद्देश्यले आयोजित ‘विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम २०८२’ भव्य रूपमा सम्पन्न भएको छ। पथरीशनिश्चरे नगरपालिका, शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा फागुन २९ गतेदेखि चैत्र १ गतेसम्म सञ्चालित यस कार्यक्रमले नगरभित्रका शैक्षिक संस्थाहरूमा नयाँ उत्साह थपेको छ।

विज्ञान प्रदर्शनमा बुद्ध माविको बर्चस्व
पञ्चायत माध्यमिक विद्यालयको प्राङ्गणमा भएको प्रतिस्पर्धात्मक प्रदर्शनीमा बुद्ध मावि (पथरीशनिश्चरे–८) ले बाजी मारेको छ। विसं. २०२४ मा स्थापित यस ऐतिहासिक विद्यालयले ‘विज्ञान प्रदर्शन’ तर्फ प्रथम स्थान हासिल गर्दै आफ्नो प्राज्ञिक उत्कृष्टता प्रमाणित गरेको छ।
बुद्ध माविका विद्यार्थीहरूले तयार पारेको ‘हाइड्रोइलेक्ट्रेसिटी’ (जलविद्युत्) सम्बन्धी परियोजनाले निर्णायक र दर्शक दुवैको मन जित्न सफल भयो । उत्कृष्ट प्रदर्शन बापत विद्यालयले नगद रु. १०,००० सहित प्रमाणपत्र प्राप्त गरेको छ ।

विजेता टोलीका सारथिहरू:
संयोजक शिक्षक: राजेन्द्रप्रसाद घिमिरे
सहभागी विद्यार्थीहरू: ममता राई, सरिता शर्मा, भीम कुर्मी, सुप्रिम विश्वकर्मा (कक्षा १०) र पोषक कार्की, रवि गजमेर (कक्षा ९)।
भव्य समापन र पुरस्कार वितरण
पञ्चायत माध्यमिक विद्यालयको संयोजनमा भएको उक्त कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष यज्ञप्रसाद बाँस्कोटा (युवराज) ले गर्नुभएको थियो। कार्यक्रमको मुख्य आकर्षणको रूपमा नगरप्रमुख मोहनप्रसाद तुम्बापोको प्रमुख आतिथ्यता रहेको थियो।
अतिथिहरूको गरिमामय उपस्थिति: पुरस्कार वितरण समारोहमा सामाजिक विकास समिति संयोजक तथा वडा नं. १० का अध्यक्ष जीवन खतिवडा, वडा नं. १ का अध्यक्ष भीमकुमार राई, स्वास्थ्य संयोजक मुरारी आचार्य र नेपाल शिक्षक महासङ्घका नगर अध्यक्ष एवं पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी लगायतको उपस्थिति थियो । अतिथिहरूले संयुक्त रूपमा विजेता विद्यार्थीहरूलाई पुरस्कार प्रदान गर्दै हौसला बढाउनुभएको थियो ।
“यो सफलता सामूहिक प्रयासको जग हो”
विजयी भएपछि खुशी व्यक्त गर्दै बुद्ध माविका प्रधानाध्यापक बोधराज सिग्देलले भन्नुभयो: “हाम्रा विद्यार्थीहरूले प्रदर्शन गरेको यो प्रतिभा केवल एउटा परियोजना मात्र होइन, यो उनीहरूको भविष्यको वैज्ञानिक यात्राको सुरुवात हो। विद्यालयको यो सफलतामा शिक्षक राजेन्द्रप्रसाद घिमिरे र सम्पूर्ण विद्यार्थी टोलीको कडा परिश्रम जोडिएको छ। यसले हामीलाई आगामी दिनमा थप सृजनशील बन्न ऊर्जा दिएको छ।”
तीन दिनसम्म चलेको यस कार्यक्रमले विद्यार्थीहरूलाई किताबी ज्ञानभन्दा बाहिर निस्किएर व्यावहारिक सीप सिक्ने प्लेटफर्म दिएको छ। पञ्चायत माविको सुन्दर व्यवस्थापन र नगरपालिकाको सह्रानीय पहलले गर्दा पथरीशनिश्चरेको शैक्षिकस्तरमा नयाँ इँटा थपिएको छ। बुद्ध मावि यसअघि भर्खरै भएकाे राष्ट्रपति रनिङ सिल्डमा पनि उपविजेता बनेकाे थियाे भने अघिल्ला २ वर्ष विजेता नै भएकाे थियाे । (केशव भारद्वाज)




