मोरङ, पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले पथरी शनिश्चरे नगरपालिका स्तरीय विद्यार्थी प्रतिभा पहिचान तथा उत्कृष्ट विद्यार्थी प्रोत्साहन कार्यक्रम–२०८२ को उद्घाटन गर्नुभएको छ । आज पथरी शनिश्चरे–१ मा रहेको पञ्चायत माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा नगर प्रमुख तुम्वापोले पानसमा बत्ती बालेर तथा व्यानर वाचन गरी कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको हो ।
पथरी शनिश्चरे नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न कार्यक्रमको संयोजन पञ्चायत माध्यमिक विद्यालयले गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज बास्कोटा (यज्ञ) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा शैक्षिक वर्ष २०८१ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप पुरस्कार वितरण गरिएको थियो ।

निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरूलाई नगर प्रमुख तुम्वापो सहित विशिष्ट अतिथिहरूले सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रममा पञ्चायत माविका प्रधानाध्यापक अर्जुन बुढाथोकीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष भीमकुमार राई, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
चैत १ गतेसम्म तीन दिन सञ्चालन हुने सो प्रतिभा पहिचान कार्यक्रममा एकल नृत्य प्रतियोगिता (आधारभूत तह+ माध्यमिक तह), एकल गायन प्रतियोगिता (आधारभूत तह+माध्यमिक तह), चित्रकला प्रतियोगिता (आधारभूत तह+ माध्यमिक तह), हिज्जे प्रतियोगिता (आधारभूत तह), हस्तलेखन प्रतियोगिता (आधारभूत तह) र विज्ञान प्रदर्शनी प्रतियोगिता (माध्यमिक तह) कार्यक्रमहरु सञ्चालन हुने शिक्षा शाखा प्रमुख नविन खुलालले जानकारी दिनुभयो ।





