मोरङ, पथरी शनिश्चरे नगरपालिकाको १८ औं नगरसभा तथा हिउँदे अधिवेशन आज सम्पन्न भएको छ । वडा नं. २ मा अवस्थित सिनभिलेज पार्टी प्यालेसमा नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा नगरसभा सम्पन्न भएको हो ।
गत भदौ २३ र २४ गते भएको ‘जेन जी’ आन्दोलनका क्रममा नगरपालिकामा तोडफोड तथा आगजनी भएपछि नगरपालिकाका अधिकांश कार्यहरू अस्तव्यस्त बनेका थिए । सो घटनापछि नगरपालिकाले धेरै कामकाजहरू पुनः शून्य अवस्थाबाट सुरु गर्नुपरेको र सोही कारण नगरसभाको मिति सार्दै आज मात्र सम्पन्न गर्न सम्भव भएको जनप्रतिनिधिहरूले बताएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले सञ्चालन गर्नुभएको कार्यक्रममा नगर प्रवक्ता नविन कार्कीले संशोधित बजेट प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी वडा नं. १ का वडा अध्यक्ष भीम राईले लेखा समितिको प्रतिवेदन तथा कार्यपालिका सदस्य कल्पना श्रेष्ठले न्यायिक समितिको प्रगति प्रतिवेदन २०८२ प्रस्तुत गर्नुभएको थियो ।





