पथरी/मोरङको पथरीशनिश्चरे–२ स्थित वाल्मीकि मेमोरियल सेकेन्डरी बोर्डिङ स्कुलले आफ्नो स्थापनाको २८औँ वसन्त पार गरेको अवसरमा दुई दिवसीय ‘वार्षिकोत्सव तथा अभिभावक दिवस–२०८२’ भव्यताका साथ बिहीबार सम्पन्न गरेको छ । विद्यालयको दक्षिण फर्किएको सजावटयुक्त मञ्च र टेन्टमुनि खचाखच भरिएका अभिभावकहरूको उपस्थितिमा दुवै दिन विद्यालय प्राङ्गण उत्सवमय बन्यो । यसपटकको उत्सवमा विद्यार्थी र शिक्षकहरूको संयुक्त ‘कला प्रदर्शनी’ मुख्य आकर्षणको केन्द्र बन्यो, जहाँ विद्यार्थीको सिर्जनाले मूल्य समेत पायो ।

आदिकवि भानुभक्तको जीवन्त उपस्थिति र फोटो मोह
प्रदर्शनीको सबैभन्दा रोचक पक्ष आदिकवि भानुभक्त आचार्यको स्वरूपमा सजिएका विद्यार्थीसँघै भानुभक्तकै कलात्मक चित्र थिए । भानुभक्तको चित्रसँगै भानुभक्तजस्तै दुरुस्त स्वरूपमा उभिएका विद्यार्थीलाई देख्दा लाग्थ्यो, नेपाली साहित्यका शिरोमणि स्वयम् प्रदर्शनी अवलोकन गर्न आइपुगेका छन्। उनीसँग फोटो र सेल्फी खिच्ने अभिभावक तथा अतिथिहरूको लर्को नै लागेको थियो, जसले कार्यक्रममा ऐतिहासिक र सांस्कृतिक गरिमा थपेको थियो । शिक्षक, अभिभावक, विद्यार्थी, शुभचिन्तक, पत्रकार तथा अागन्तुक सबैजसाे अतिथिगणमा फाेटाे तथा सेल्फीमाेह पाइन्थ्याे ।

क्यानभासमा विद्यार्थीको जादु : ८० हजारसम्मका चित्र
कला शिक्षकको संयोजनमा आयोजित बृहत् चित्रकला प्रदर्शनीले सबैलाई अचम्मित तुल्यायो। प्रदर्शनीमा राखिएका चित्रहरू केवल प्रदर्शनका लागि मात्र नभई बिक्रीका लागि समेत खुला गरिएको थियो ।

चित्रको मूल्य : न्यूनतम एक हजारदेखि अधिकतम रु. ८०,००० सम्म तोकिएको थियो । जेनजी अान्दाेलनसँगै देशकाे वर्तमान अवस्था झल्काउने बृहत् स्वरूपकाे चित्रकाे मूल्य असी हजार ताेकिएकाे छ।

आम्दानी : धेरै चित्रहरू अवलोकनकर्ताले खरिद गरेका थिए। यसरी आफ्नै सिर्जना बिक्री भएपछि विद्यार्थीहरूले विद्यालयमै आम्दानी समेत गर्न सफल भए, जसले उनीहरूमा व्यावसायिक कलातर्फ उत्साह जगाएको छ।

नगर प्रमुखको उपस्थिति र दोस्रो दिनको रौनक
कार्यक्रमको दोस्रो दिन झनै विशेष रह्यो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नोवलकिशोर खनालको अध्यक्षतामा सम्पन्न उक्त समापन समारोहमा पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापो प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो ।
नगर प्रमुख तुम्बापोले वाल्मीकि मेमोरियलले नगरको शैक्षिक विकासमा पुर्याएको योगदानको प्रशंसा गर्दै विद्यालयले उत्पादन गरेका जनशक्तिले समाजमा सकारात्मक प्रभाव पारेको बताउनुभयो। कार्यक्रमको सुरुवातमा प्रिन्सिपल चन्द्रप्रसाद दुलालले सटिक र ओझिलो स्वागत मन्तव्य राख्दै दुई दिनसम्म चल्ने उत्सवको उद्देश्य र विद्यालयको लक्ष्यबारे प्रस्ट पार्नुभएको थियो।

उद्घोषण र सांस्कृतिक उल्लास
कार्यक्रमलाई थप रोचक र व्यवस्थित बनाउन उद्घोषकहरूको भूमिका महत्वपूर्ण रह्यो। पहिलो दिन शिक्षक विवेक न्यौपानेको दमदार प्रस्तुति रह्यो भने दोस्रो दिनको कार्यक्रमलाई मेलिना आचार्यले कुशलतापूर्वक सञ्चालन गर्नुभएको थियो।
मञ्चमा विद्यार्थीहरूले मात्र होइन, शिक्षिकाहरूले पनि आफ्नो कला प्रस्तुत गरे। छात्राहरूले ‘हरेक रात सपनीमा’ र शिक्षिकाहरूले ‘लाग्दछ मलाई रमाइलो’ बोलको गीतमा देखाएको सामूहिक नृत्यले उपस्थित सबैलाई न्यानो स्वागत गरेको थियो।

प्रगति प्रतिवेदन र विद्यार्थीको आवाज
अध्यक्ष नोवल किशोर खनालले विद्यालयको हालसम्मको प्रगति र आगामी शैक्षिक योजनाहरू प्रस्तुत गर्नुभयो। उहाँले विद्यालयलाई प्रविधिमैत्री र संस्कारयुक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। यस्तै, विद्यार्थीका तर्फबाट कक्षा ९ की छात्रा मिस्मिका ढकालले विद्यालय र अभिभावकको समन्वयले मात्र विद्यार्थीको भविष्य उज्ज्वल हुने धारणा राख्नुभयो ।

पूर्व विद्यार्थीलाई सम्मान र मनोरञ्जन
वार्षिकोत्सवको अवसरमा विद्यालयले आफ्ना पूर्व विद्यार्थीहरूलाई दोसल्ला र सम्मानपत्रद्वारा विशेष सम्मान गरेको थियो। औपचारिक सत्रको समाप्तिपछि विद्यार्थीहरूले चेतनामूलक नाटक, सुमधुर गायन र नृत्य र आधुनिक शैलीको र्याम्प वाक प्रस्तुत गरेर दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए ।
दुई दिनसम्म चलेको यो उत्सवले वाल्मीकि मेमोरियल केवल पढाइमा मात्र नभई अतिरिक्त क्रियाकलाप र व्यवस्थापनमा पनि अब्बल रहेको प्रमाणित गरेको छ । यही विद्यालयबाट २०८१ काे कक्षा ८ काे नगरस्तरीय वार्षिक परीक्षामा ३ जनाले जिपिए ४ र कक्षा १० (एसइइ) काे परीक्षामा २ जनाले जिपिए ४ ल्याएर समग्र पालिकाकै छवि उँचाे बनाउने गरी शैक्षिक उन्नयनकाे दरिलाे प्रमाण पेस भएकाे छ । (केशव भारद्वाज)




