पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातबाट निधन

पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातबाट निधन

पोखरा महानगरपालिकाका पूर्वमेयर कृष्ण थापा को ६५ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ।

पोखरा महानगरपालिकामा आयोजित कास्की जिल्ला क्षेत्र नम्बर १ को प्रतिनिधिसभा निर्वाचन समीक्षा बैठक सकिएपछि कुर्सीमा बसिरहेको अवस्थामा उनी अचानक अस्वस्थ भएका थिए। नेकपा (एमाले) कास्कीका अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्री का अनुसार बैठक समाप्त भएपछि बसिरहेका बेला थापालाई एक्कासी हृदयघात भएको थियो।

हृदयघात भएपछि उनलाई तत्काल उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको थियो। अस्पतालका चिकित्सकहरूले जाँच गर्दा उनलाई मृत घोषणा गरिएको अध्यक्ष क्षेत्रीले जानकारी दिए।

थापा २०५४ सालको स्थानीय निर्वाचनमा पोखरा महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। त्यसपछि २०७४ सालको निर्वाचनमा उनी गण्डकी प्रदेशको प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

२०७८ सालको स्थानीय तह निर्वाचनमा पनि उनी पुनः पोखरा महानगरपालिकाको मेयर पदका प्रत्याशी बनेका थिए।

थापा हाल नेकपा (एमाले) कास्कीका इन्चार्ज तथा पार्टीका केन्द्रीय सदस्य पनि रहेका थिए। यसपटकको प्रतिनिधिसभा निर्वाचनमा उनलाई कास्की–२ बाट उम्मेदवारको टिकट दिइएको थियो। तर पछि उक्त टिकट खोसेर अर्का केन्द्रीय सदस्य रश्मि आचार्य लाई दिइएपछि उनी असन्तुष्ट रहेको बताइएको थियो।

उनको निधनले कास्की तथा गण्डकी प्रदेशको राजनीतिमा ठूलो क्षति पुगेको भन्दै विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताले दुःख व्यक्त गरेका छन्। एमाले नेता–कार्यकर्ताले पनि उनको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्।

सम्बन्धित खवर