हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न नसकेपछि नेपाली कांग्रेसभित्र नेतृत्वको विषयलाई लिएर तीव्र छलफल सुरु भएको छ। पार्टीका सभापति गगनकुमार थापाले पराजयको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिने तयारी गरेको चर्चा पार्टी वृत्तमा सुरु भएको छ।
सभापति थापा र उपसभापति विश्वप्रकास शर्माबिच नयाँ बानेश्वरमा यस विषयमा भेटवार्ता भएको बताइएको छ। सो भेटमा थापाले पार्टीले अपेक्षित सफलता प्राप्त गर्न नसकेको भन्दै यसको नैतिक जिम्मेवारी आफूले लिनुपर्ने धारणा व्यक्त गरेका छन्।
भेटवार्ताका क्रममा थापाले पार्टीको हारपछि नेतृत्वले जिम्मेवारी लिनुपर्ने भन्दै पदबाट अलग हुने इच्छा व्यक्त गरेको स्रोतलाई उद्धृत गर्दै जनाइएको छ तर उपसभापति शर्माले भने तत्काल राजीनामा दिन नहुने सुझाव दिएका छन्। उनले निर्वाचन परिणामलाई केवल एक व्यक्तिको कमजोरी नभई समग्र परिस्थितिको परिणामका रूपमा बुझ्नुपर्ने बताएका छन्।
यसैबीच प्रतिनिधिसभा निर्वाचनको परिणामपछि कांग्रेसभित्र नेतृत्व र रणनीतिबारे व्यापक बहस सुरु भएको छ। पार्टीभित्रका केही नेताहरूले पराजयको कारणबारे गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन् भने केहीले नेतृत्व परिवर्तन आवश्यक भएको धारणा व्यक्त गर्न थालेका छन्।
हालसम्म भने सभापति थापाले औपचारिक रूपमा राजीनामाको घोषणा गरिसकेका छैनन्। कांग्रेसको आगामी केन्द्रीय समिति बैठक तथा आन्तरिक छलफलपछि यस विषयमा स्पष्ट निर्णय आउने सम्भावना रहेको बताइएको छ।




