चिनारी स्कुलको वार्षिक उत्सव : संस्कृति, खेलकुद र सम्मानकाे लहर

चिनारी स्कुलको  वार्षिक उत्सव : संस्कृति, खेलकुद र सम्मानकाे लहर

पथरी / मोरङको पथरीशनिश्चरे–२, देवीगन्जमा रहेकाे चिनारी अङ्ग्रेजी बोर्डिङ स्कुलले आफ्नो १६ अाैँ ‘अभिभावक दिवस तथा वार्षिक कार्यक्रम–२०८२’ एक विशेष समारोहका बिच भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालय प्राङ्गणमा शुक्रबार आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूको उत्कृष्ट सांस्कृतिक प्रस्तुति, खेलकुद कौशल र सम्मानको त्रिवेणी देखिएको थियो।

उद्घाटन र आतिथ्यता

विद्यालयका संस्थापक सोमनाथ नेपालको सभापतित्व तथा पथरीशनिश्चरे वडा नं. ३ का अध्यक्ष विजय लिम्बूको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । दीप प्रज्वलन गरी उद्घाटन गरिएको उक्त समारोहमा संस्थापक विरेन साम्बा र थिरप्रसाद आचार्य विशिष्ट अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रममा प्रिन्सिपल गजेन्द्र सुब्बा, भाइस प्रिन्सिपल मदन खत्री, अभिभावक संघका अध्यक्ष लक्षबहादुर तामाङ, उपाध्यक्ष सम्झना राईलगायतका पदाधिकारी र सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो।

सांस्कृतिक रौनकता : विद्यार्थीको कला मञ्चमा

राष्ट्रिय गान र स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यार्थीहरूले आफ्नो प्रतिभाले दर्शकलाई मन्त्रमुग्ध पारेका थिए। विशेषगरी विद्यार्थीहरूले निम्न प्रस्तुतिमार्फत नेपाली कला र संस्कृतिको झलक पस्किए :

नृत्य तथा गीत : “लाग्दछ मलाई रमाइलो”, “नाच्न पनि आउँछ मलाई”, “सैलोमा चारघरे”, “स्वाउली बजारमा”, र “जिन्दगी रमाइलो छ”।

अन्य कला : अभिनय र प्रभावशाली भाषणमार्फत विद्यार्थीहरूले आफ्नो बौद्धिक र सिर्जनात्मक क्षमता प्रदर्शन गरे।

खेलकुद र सम्मानको लहर

पढाइसँगै अतिरिक्त क्रियाकलापलाई जोड दिँदै विद्यालयले विभिन्न खेलकुद प्रतियोगिताहरू पनि सञ्चालन गरेको थियो।

विजेताहरू: बल एन्ड कप रेस, डबल ब्यालेन्सिङ रेस, बल कलेक्टिङ रेस र फुटबल प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई आकर्षक पुरस्कार प्रदान गरियो।

विशेष सम्मान: जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा सान्त्वना पुरस्कार जित्न सफल छात्रा तुलाशा खनाललाई विद्यालयको तर्फबाट विशेष सम्मान गरिएको थियो।

नेतृत्वको भनाइ र प्रतिबद्धता

कार्यक्रमको अन्त्यमा सभापति एवम् संस्थापक सोमनाथ नेपालले विद्यालयको यात्रामा अभिभावकहरूको साथ अतुलनीय रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले शैक्षिक गुणस्तर अभिवृद्धिसँगै विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अतिरिक्त क्रियाकलापलाई सधैँ प्राथमिकता दिँदै आएका छौँ ।” उहाँले कार्यक्रम सफल बनाउन सहयोग गर्ने शिक्षक, विद्यार्थी र अभिभावकहरूलाई धन्यवाद समेत ज्ञापन गर्नुभयो ।

 निर्देशक विरेन साम्बाकाे शैक्षिक प्रतिबद्धता

कार्यक्रमलाई सम्बोधन गर्दै चिनारी अंग्रेजी बोर्डिङ स्कुलका निर्देशक विरेन साम्बाले विद्यालयको शैक्षिक गुणस्तर र भावी योजनाका बारेमा प्रकाश पार्नुभयो। उहाँले भन्नुभयो: “हाम्रो मुख्य ध्येय भनेको विद्यार्थीलाई केवल किताबी ज्ञान दिनु मात्र होइन, उनीहरूभित्र लुकेको प्रतिभालाई प्रस्फुटन गराउनु पनि हो। चिनारी बोर्डिङले आज जुन उचाइ हासिल गरेको छ, यसमा हाम्रा मिहिनेती शिक्षक र सधैँ साथ दिने अभिभावकहरूको ठूलो योगदान छ।”

निर्देशक साम्बाले थप्दै भन्नुभयो— “अभिभावक दिवस केवल एउटा औपचारिकता मात्र नभई विद्यालय र अभिभावकबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने अवसर हो। हामी आउँदा दिनमा प्रविधिमैत्री शिक्षा र विद्यार्थीको चौतर्फी विकासका लागि थप नयाँ कार्यक्रमहरू ल्याउने तयारीमा छौँ ।”

उहाँले विद्यालयले खेलकुद र सांस्कृतिक क्रियाकलापलाई पनि शैक्षिक क्यालेन्डरको अभिन्न हिस्सा बनाएको उल्लेख गर्दै उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी र सम्मानित हुने छात्रा तुलाशा खनाललाई विशेष बधाई ज्ञापन गर्नुभयो।

अभिभावक र विद्यालयबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै चिनारी बोर्डिङ स्कुलले यस वर्षको उत्सवलाई हर्षोल्लासका साथ सम्पन्न गरेको छ।

सम्बन्धित खवर