रेडस्टार माविको ३०औँ वार्षिकोत्सव: ‘शैक्षिक हब’ मा देखियो प्रतिभा र संस्कारको सङ्गम

रेडस्टार माविको ३०औँ वार्षिकोत्सव: ‘शैक्षिक हब’ मा देखियो प्रतिभा र संस्कारको सङ्गम

विज्ञान र होटल म्यानेजमेन्टकाे पढाइ हुने 

पूर्वी मोरङको शैक्षिक जगतमा एउटा भिन्न पहिचान बनाएको रेडस्टार माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ३०औँ वसन्त पार गरेको छ। ‘गुणस्तरीय शिक्षा र असल संस्कार’ लाई मूल मन्त्र बनाएको यस विद्यालयले शनिबार आफ्नो ३०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस–२०८२ एक भव्य समारोहका बिच सम्पन्न गरेको छ। दुई दिनसम्म चलेको यो उत्सव केवल औपचारिक कार्यक्रममा मात्र सीमित नरही विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा र सांस्कृतिक विविधता प्रदर्शन गर्ने एउटा जीवन्त मञ्च बन्यो । दुई दिवसीय यो उत्सवमा विद्यालयले आफ्नो तीन दशक लामो गौरवपूर्ण यात्राको उत्सव मात्र मनाएन, आगामी शैक्षिक सत्रका लागि महत्वपूर्ण कोसेढुङ्गा सावित हुने नयाँ योजनाको समेत उद्घोष गरेको छ।

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै विद्यालयका  निर्देशक तथा प्रिन्सिपल टि.एन. तिम्सिनाले विद्यार्थी र अभिभावकहरूका लागि खुसीको खबर सार्वजनिक गर्नुभयो। उहाँले आगामी शैक्षिक सत्रदेखि कक्षा ११ मा ‘विज्ञान’ (Science) विषय समूह र ‘होटल म्यानेजमेन्ट’ (Hotel Management) विषयको पनि अध्यापनका लागि  गृहकार्य सुरू भएकाे उद्घाेष गर्नुभयाे । “विद्यार्थीहरूले उच्च शिक्षाका लागि टाढा जानु नपरोस् र समयको माग अनुसारको प्राविधिक तथा वैज्ञानिक शिक्षा गाउँठाउँमै पाउन सकून् भन्ने उद्देश्यले हामीले आगामी सत्रदेखि विज्ञान र हाेटल म्यानेजमेन्ट थप गर्ने निर्णय गरेका हौँ,” प्रिन्सिपल तिम्सिनाले बताउनुभयो।

नगरको गौरव: प्रमुख अतिथिको प्रशंसा

कार्यक्रमका प्रमुख अतिथि एवम् पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले रेडस्टारले नगरको साख जोगाएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “रेडस्टार माविले  मोरङकै शैक्षिक उन्नयनमा ठुलाे याेगदान गरेकाे छ। शैक्षिक गुणस्तर मात्र होइन, यसले विभिन्न जातजाति र समुदायको मौलिकता एवम् सांस्कृतिक संरक्षणमा खेलेको भूमिका प्रशंसनीय छ।”  दबाब र प्रभावमा नपर्ने  स्वभावसमेत उल्लेख गर्लै नगर प्रमुख तुम्बापाेले थप्नुभयाे “म कसैकाे दबाब र प्रभावमा पर्ने व्यक्ति हाेइन, मनकाे कुरा भन्दा  चाहिँ यत्तिकाे  प्रगति गरेकाे विद्यालयमा नानीबाबु पढाउँदा ढुक्क हाेइन्छ ।” 

रङ्गीन मञ्च, कलिला प्रतिभा

कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूले मञ्चमा देखाएको प्रस्तुतिले उपस्थित सबैलाई मन्त्रमुग्ध पारेको थियो। कार्यक्रममा विद्यार्थीहरूले विविध जातजातिका पहिचान झल्काउने नृत्य र गीत, साहित्यिक चेत झल्काउने कविता र कथावाचन, आत्मविश्वासले भरिएका भाषण एवम् नाटक र आधुनिकताको झल्को दिने र्‍याम्प वाक प्रस्तुत गरेका थिए।

सम्मान र प्रोत्साहन: मिहिनेतको कदर

वार्षिकोत्सवको अवसरमा शैक्षिक सत्र २०८० र २०८१ मा उत्कृष्ट नतिजा ल्याउने कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूलाई शैक्षिक पुरस्कार वितरण गरिएको थियो।

विद्यालयले विद्यार्थीलाई मात्र नभई, संस्था निर्माणमा अहोरात्र खट्ने जनशक्तिलाई पनि पुरस्कृत गरेको छ। यस वर्षको उत्कृष्ट शिक्षक: अतिरिक्त क्रियाकलाप संयोजक सनम गजेमेर र उत्कृष्ट कर्मचारी सन्त कुमार लामालाई दोसल्ला ओढाई नगदसहित सम्मान गरिएको थियो, जसले कर्मचारीहरूमा थप उत्साह भरेको छ।

प्रगति प्रतिवेदन र प्रतिबद्धता

विद्यालयका प्रबन्ध निर्देशक तथा प्रिन्सिपल टि.एन. तिम्सिनाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उहाँले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो। विगत सात वर्षदेखि निरन्तर ‘संस्कारसहितको जीवनोपयोगी शिक्षा’ प्रदान गरिरहेको उल्लेख गर्दै उहाँले रेडस्टारलाई अझ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा लर्ड बुद्ध साकोसका व्यवस्थापक गणेश बाछानाले विद्यालयले अभिभावकहरूको विश्वास जितेर नगरमै अब्बल स्थान बनाउन सफल भएको बताउनुभयो। अभिभावक, शिक्षक र विद्यार्थीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले आयोजित यो उत्सव सभ्य र भव्य रूपमा समापन भयो। भाइस प्रिन्सिपल वसन्त मादेनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरू राजु तिम्सिना, सुजन बास्तोला, विजय डाँगी लगायतका अतिथिहरूको बाक्लो उपस्थिति रहेको थियो।

सम्बन्धित खवर