विराटनगर/ प्रेस काउन्सिल नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी सामाजिक सञ्जालमार्फत फैलाइने भ्रामक र द्वैषपूर्ण सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सञ्चार माध्यमका रूपमा दर्ता वा अभिलेखीकरण नभई सञ्चालनमा रहेका युट्युब च्यानल, फेसबुक पेज तथा रिलहरूमाथि काउन्सिलले विशेष निगरानी सुरु गरेको हो ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै काउन्सिलले निर्वाचनको संवेदनशीलतालाई ध्यानमा राख्दै अनुगमन प्रक्रियालाई तीव्र बनाएको जानकारी दिएको छ।
निर्वाचन आचारसंहिताको गम्भीर उल्लङ्घन
काउन्सिलका अनुसार विशेष अनुगमनका क्रममा कतिपय सामाजिक सञ्जालका प्लेटफर्महरूले प्रचलित निर्वाचन आचारसंहिताको गम्भीर उल्लङ्घन गरेको पाइएको छ। विशेषगरी राजनीतिक दल तथा उम्मेदवारलाई होच्याउने र अपमान गर्ने, मिथ्या, गलत र भ्रामक सूचना प्रवाह गरी जनमानसलाई भ्रमित पार्ने तथा द्वैषपूर्ण र घृणा फैलाउने (Hate Speech) सामग्री सम्प्रेषण गर्ने गरिएकाे उल्लेख छ ।
अटेरी गर्नेलाई साइबर ब्युरोमार्फत कारबाही
काउन्सिलले त्यस्ता प्लेटफर्महरूलाई तत्काल नोटिसमा राख्दै आचारसंहिता विपरीतका सामग्री हटाउन निर्देशन दिएको छ। काउन्सिलका सह-प्रवक्ता रामशरण बोहराका अनुसार निर्देशनको अवज्ञा गरी पटक-पटक नियम विपरीत कार्य गर्ने सञ्जालहरूलाई अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पत्राचार गरिएको छ। “सञ्चार माध्यमका रूपमा दाबी गर्ने तर कानुनी प्रक्रिया पूरा नगर्ने र आचारसंहिता नमान्ने जोसुकैलाई पनि कानुनी दायरामा ल्याइनेछ,” काउन्सिलले स्पष्ट पारेको छ।
निर्वाचन आयोगसँग समन्वय
काउन्सिलले प्राप्त उजुरीका आधारमा निर्वाचन आयोगसँग समेत समन्वय गरी अनुगमन गरिरहेको छ। निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम यस्ता गतिविधिमा संलग्न हुनेहरूलाई कडा सजाय हुने चेतावनी समेत दिइएको छ।
काउन्सिलले सम्पूर्ण सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई निर्वाचनलाई प्रभावित पार्ने खालका भ्रामक टिकाटिप्पणी नगर्न र जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न आग्रह गरेको छ।




