एमालेको प्रचार तीव्र, पोखरा–२७ मा घरदैलो अभियान विस्तार

एमालेको प्रचार तीव्र, पोखरा–२७ मा घरदैलो अभियान विस्तार

नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोखरा महानगरपालिका वडा नम्बर २७ ले निर्वाचन लक्षित प्रचारप्रसार कार्यक्रमलाई तीव्र बनाएको छ। वडा केन्द्रित घरदैलो तथा मतदाता भेटघाट अभियानमार्फत पार्टीले आफ्नो संगठन सुदृढ गर्दै चुनावी माहोल थप तातेको जनाएको छ।

प्रचारप्रसार कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार बैनबहादुर अधिकारी क्षेत्रीले देशको विकास, स्थायित्व र समृद्धिको स्पष्ट आधार एमाले नै भएको दाबी गरे। उनले संविधान कार्यान्वयन, पूर्वाधार विकास र जनजीविकासँग जोडिएका एजेण्डालाई संसदमा प्रभावकारी रूपमा उठाउन आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै सूर्यचिन्हमा मतदान गरी विजयी गराउन मतदातासँग अपिल गरे।

कार्यक्रममा एमाले कास्की जिल्ला सदस्य सूर्यमणि लामिछाने र रक्षा भट्टराई तथा वडा अध्यक्ष टिकाराम भुर्तेललगायत नेताहरूले पार्टीको नीति, योजना र विकास दृष्टिकोणबारे जानकारी गराउँदै सूर्यचिन्हमा मतदान गर्न मतदातालाई आग्रह गरेका थिए।

घरदैलो अभियान अन्तर्गत कालिमाटी, नमस्ते पार्टी प्यालेस, गण्डकी मेडिकल कलेज भन्ज्याङ, भण्डारी टोल, छत्रे ढुङ्गा, मरेखरे, मगर संघ र तालचोक क्षेत्रमा मतदाता भेटघाट सम्पन्न भएको एमाले नेता शुक्र शर्माले जानकारी दिए।

सम्बन्धित खवर