बागमारा आमन्त्रित महिला फुटबल : म्याग्दी च्याम्पियन

बागमारा आमन्त्रित महिला फुटबल : म्याग्दी च्याम्पियन

पोखरा महानगरपालिका–३३ स्थित बागमारामा सम्पन्न प्रथम बागमारा आमन्त्रित महिला फुटबल प्रतियोगिताको उपाधि म्याग्दी जिल्ला महिला फुटबल संघले जितेको छ। शिव बस्ती सिप्लेनीतरा युवा क्लबको आयोजनामा तथा पोखरा महानगरपालिका–३३ को संरक्षकत्वमा प्रतियोगिता सम्पन्न भएको हो।

फाइनल खेलमा म्याग्दीले कपिलवस्तु महिला फुटबल संघलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि कब्जा गरेको हो। खेल सुरु भएको पहिलो मिनेटमै वर्षा ओलीले गरेको गोल नै निर्णायक बन्यो। खेलाडीसम्बन्धी विवादका कारण फाइनल निर्धारित समयभन्दा ढिला सुरु भएको र समय अभावका कारण खेल १०–१० मिनेटको हाफमा खेलाइएको थियो।


उपाधि विजेता म्याग्दीले नगद १ लाख रुपैयाँसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता कपिलवस्तुले ५० हजार रुपैयाँसहित शिल्ड र प्रमाणपत्रमा चित्त बुझायो। प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट आएका ८ महिला टोलीहरूको सहभागिता रहेको थियो।

पुरस्कार वितरण समारोहमा वडा अध्यक्ष रामचन्द्र अधिकारीले महिला फुटबलको प्रवर्द्धन, नयाँ खेल प्रतिभाको पहिचान तथा स्थानीय तहमा खेलकुद गतिविधि विस्तारमा प्रतियोगिताले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।


महिला खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्दै राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा टेवा पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

सम्बन्धित खवर