पथरी/नेपाल बुद्धिचाल सङ्घ पथरीशनिश्चरे नगर समितिको आयोजनामा सम्पन्न दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोगितामा ‘ए’ डिभिजनतर्फ एभरेस्ट बोर्डिङ सेकेन्डरी स्कुल र ‘बी’ डिभिजनमा कीर्तिपुर एकेडेमीले प्रथम स्थान हासिल गरेका छन्। तीन दिनसम्म चलेको प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयबीच रोचक प्रतिस्पर्धा देखिएको थियो।
‘ए’ डिभिजनमा एभरेस्ट बोर्डिङ स्कुलले उत्कृष्ट सामूहिक प्रदर्शन गर्दै स्वर्ण पदक जित्यो। विजेता टोलीमा सिद्धान्त कन्दङ्वा, सेम्रिल राई, रिदम राई र संस्कार शिवाकोटी सहभागी थिए। साविक विजेता विद्यालयसमेत रहेको एभरेस्टले यसपटक पनि आफ्नो दबदबा कायम राख्न सफल भयो।
उक्त डिभिजनमा मोरङ मेरिगोल्ड बोर्डिङ स्कुल दोस्रो र कीर्तिपुर एकेडेमी तेस्रो भए। उपविजेता मोरङ मेरिगोल्डका तर्फबाट सिर्जन श्रेष्ठ, कृष्टि राई, सुप्रल याक्खा र मनिल गुरुङले प्रतिस्पर्धा गरेका थिए। ए डिभिजनमा सहभागी खेलाडीमध्ये सिद्धान्त कन्दङ्वा सर्वउत्कृष्ट खेलाडी घोषित भए भने छात्रातर्फ मोरङ मेरिगोल्डकी कृष्टि राई उत्कृष्ट खेलाडी घोषित भइन्। त्यस्तै कक्षा ८ मुनिका खेलाडीमध्ये वाल्मीकि बोर्डिङ स्कुलका प्रज्वल तामाङ पुरस्कृत भए।
‘बी’ डिभिजनमा किर्तिपुर एकेडेमीले दिप्सन अधिकारी, रेबिका लिम्बू र चाल्स सारुमगरको उत्कृष्ट प्रदर्शनका आधारमा प्रथम स्थान हात पार्यो। पञ्चायत माध्यमिक विद्यालय दोस्रो तथा एभरेष्ट बोर्डिङ स्कुल तेस्रो भए। बी डिभिजनमा बाल जागरण बोर्डिङ स्कुलका एन्जल थापा उत्कृष्ट खेलाडी घोषित भए भने छात्रातर्फ किर्तिपुर एकेडेमीकी रेबिका लिम्बू र कक्षा ८ मुनिका चाल्स सारुमगर पुरस्कृत भए।

प्रतियोगितामा उत्कृष्ट प्रशिक्षणका लागि एभरेष्ट बोर्डिङ स्कुलका कोच लोकसागर साम्बा सर्वउत्कृष्ट कोच घोषित भए।
विजेता तथा उपविजेता विद्यालयहरूलाई क्रमशः ‘ए’ डिभिजनमा ५ हजार, ३ हजार र २ हजार तथा ‘बी’ डिभिजनमा ३ हजार, २ हजार र १ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। पुरस्कार पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहन तुम्बापोको हातबाट वितरण गरिएको थियो।
प्रतियोगिता फागुन ६ गतेदेखि ८ गतेसम्म सञ्चालन भएको थियो। स्वीस लिग तथा राउन्ड रोबिन प्रणालीअन्तर्गत कुल ९ राउन्ड खेलाइएको प्रतियोगितामा १६ वटा विद्यालयका ७० भन्दा बढी विद्यार्थी सहभागी भएको आयोजक समितिले जनाएको छ।
नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिका अध्यक्ष रोहित सुब्बाका अनुसार विद्यालयस्तरबाट सक्षम खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। उनले यस्ता प्रतियोगिताले विद्यार्थीमा बौद्धिक क्षमता विकाससँगै प्रतिस्पर्धात्मक भावना अभिवृद्धि हुने विश्वास व्यक्त गरे।
प्रतियोगिताको निर्णायक (आरबीटर) का रूपमा डम्बर बाछाना राईले भूमिका निर्वाह गरेका थिए। प्रतियोगिताले स्थानीय स्तरमा बुद्धिचाल खेलप्रतिको आकर्षण र सहभागिता उल्लेखनीय रूपमा बढेको आयोजकको दाबी छ।




