जन्मदिनको खर्च समाजसेवामा : फोटो पत्रकार अक्षयकोषमा गुरुङ दम्पतीको सहयोग

जन्मदिनको खर्च समाजसेवामा : फोटो पत्रकार अक्षयकोषमा गुरुङ दम्पतीको सहयोग

यूकेमा रहेका सचित गुरुङको १९औँ जन्मदिनको अवसर पारेर उनका अभिभावकले सामाजिक सेवामुखी सहयोग गरेका छन्। जन्मदिनमा हुने व्यक्तिगत खर्चलाई परोपकारी कार्यमा रूपान्तरण गर्दै गुरुङ परिवारले फोटो पत्रकार तथा आश्रित व्यक्तिहरूलाई सहयोग पुर्‍याएका हुन्।

यूकेमा व्यवसाय गर्दै आएका चन्द्रबहादुर गुरुङ र शान्ता गुरुङ दम्पतीले नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’मा २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्। उक्त सहयोग सहारा क्लब पोखराद्वारा आयोजित आहा रारा पोखरा गोल्डकप मा सहभागी हुन नेपाल आएका क्रममा चन्द्रबहादुर गुरुङले एनपिजेए कास्कीका सचिव धनबहादुर गुरुङलाई हस्तान्तरण गरेका हुन्।

कोल्मा बहाकोट समाज यूकेका अध्यक्ष, सहारा यूकेका सल्लाहकार तथा सहारा क्लब पोखरा का सदस्य समेत रहेका गुरुङ नेपाल बसाइका क्रममा विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन्। उनले जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै फोटो पत्रकारहरूको पेशागत विकासमा सहयोग पुग्ने उद्देश्यले अक्षयकोषमा योगदान गरेको बताएका छन्।

सहयोग ग्रहण गर्दै एनपिजेए कास्कीका सचिव धनबहादुर गुरुङले अक्षयकोषमा प्राप्त यस्ता सहयोगले फोटो पत्रकारहरूको क्षमता अभिवृद्धि, तालिम तथा आपतकालीन सहयोगमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे। उनले सहयोगी परिवारप्रति धन्यवाद ज्ञापन गर्दै कोषको लक्ष्य प्राप्तिमा समुदायको साथ आवश्यक रहेको बताए।
यसैबीच, सचित गुरुङको जन्मदिनकै अवसरमा गुरुङ दम्पतीले मानव सेवा आश्रम पोखरा–छोरेपाटनमा २५ हजार ५ सय रुपैयाँ नगद सहयोगका साथै बेलुकाको भोजन र खाद्यान्न वितरण गरेका थिए। त्यस्तै सहारा एकेडेमी मा आश्रित बालबालिकालाई पनि भोजन तथा खाद्यान्न सहयोग उपलब्ध गराइएको थियो।

गुरुङ दम्पतीले यूकेमा ‘गोर्खा हिल क्यास एण्ड क्यारी’ सञ्चालन गर्दै आएका छन् भने उनका छोरा सचित गुरुङ हाल यूकेमै सिभिल इन्जिनियरिङ अध्ययनरत छन्। परिवारले विदेशमा रहेर पनि नेपालमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको बताउँदै आगामी दिनमा समेत यस्ता सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

सम्बन्धित खवर