जेसिजले जुटायो कास्की–१ का उम्मेदवार एउटै मञ्चमा, जनतासँग प्रत्यक्ष संवाद

जेसिजले जुटायो कास्की–१ का उम्मेदवार एउटै मञ्चमा, जनतासँग प्रत्यक्ष संवाद

आम निर्वाचन २०८२ को पूर्वसन्ध्यामा लेखनाथ जेसीज ले कास्की क्षेत्र नम्बर–१ का प्रत्यक्षतर्फका उम्मेदवारलाई एउटै मञ्चमा उभ्याएर जनतासामु आफ्ना एजेण्डा र प्रतिबद्धता प्रस्तुत गर्ने अवसर प्रदान गरेको छ।

निर्वाचनको माहोल तातेका बेला घरदैलो अभियानमा व्यस्त उम्मेदवारहरूलाई एउटै स्थानमा ल्याई मतदातासँग प्रत्यक्ष संवाद गराउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमले विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारका योजना, दृष्टिकोण र प्राथमिकता एकैपटक सुन्ने अवसर मतदातालाई दिएको सहभागीहरूले बताएका छन्।

पोखरा महानगरपालिका–३० स्थित शिशुवा चोकमा आयोजित कार्यक्रममा उम्मेदवारहरूले आ–आफ्ना चुनावी प्रतिबद्धता व्यक्त गर्नुका साथै नागरिकबाट उठेका जिज्ञासाको प्रत्यक्ष जवाफ दिएका थिए। अधिकांश उम्मेदवारले निर्धक्क रूपमा निर्वाचन जितेर विकास निर्माणका काममा सक्रिय हुने प्रतिबद्धता जनाएका थिए।

कास्की क्षेत्र नम्बर–१ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएका १७ जनामध्ये १४ जनाको सहभागिता रहेको उक्त कार्यक्रममा क्षेत्रीय विकासलाई केन्द्रमा राख्दै नयाँ योजना प्रस्तुत गरिएको थियो। संसद्मा पुगेर जनचाहनाअनुसार नीति तथा कानुन निर्माणमा सक्रिय भूमिका खेल्ने प्रतिवद्धता पनि उम्मेदवारहरूले व्यक्त गरेका छन्।

कार्यक्रममा सहभागी उम्मेदवारहरूले क्षेत्रका ताल तथा प्राकृतिक स्रोत–साधनको सदुपयोग, शिक्षा र स्वास्थ्य सेवाको सुधार, पर्यटन प्रवर्द्धन तथा कृषि उत्पादनसँग जोडिएको रोजगारी सिर्जना मुख्य प्राथमिकताका रूपमा अघि सारे। साथै औद्योगिकीकरण, जलविद्युत विकास, भ्रष्टाचार नियन्त्रण र धार्मिक सहिष्णुताको विषयमा समेत आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए।

जेसीज अध्यक्ष सर्वेन्द्र न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयोजन निवर्तमान अध्यक्ष कृष्ण तिवारीले गरेका थिए भने पूर्वअध्यक्ष प्रकाश राईभाट र रोशन अधिकारीले सहजीकरण गरेका थिए।

सम्बन्धित खवर