मोरङ क्षेत्र नं. ३ मा डा. देउमान सम्वाहाम्फेद्वारा चुनावी प्रतिबद्धतापत्र सार्वजनिक : कृषि, शिक्षा र स्वास्थ्यमा ‘ब्रेक थ्रु’ गर्ने सङ्कल्प

मोरङ क्षेत्र नं. ३ मा डा. देउमान सम्वाहाम्फेद्वारा चुनावी प्रतिबद्धतापत्र सार्वजनिक : कृषि, शिक्षा र स्वास्थ्यमा ‘ब्रेक थ्रु’ गर्ने सङ्कल्प

पथरी/ नेपाली कम्युनिस्ट पार्टीबाट मोरङ क्षेत्र नम्बर ३ का उम्मेदवार डा. देउमान सम्वाहाम्फेले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएकाे छ । आज मोरङको पथरीमा आयोजित एक पत्रकार सम्मेलनमार्फत उहाँले स्थानीय आवश्यकता र जनजीविकालाई केन्द्रमा राख्दै आफ्नो चुनावी एजेन्डा सार्वजनिक गर्नुभएकाे हाे ।

पत्रकार सम्मेलनमा बोल्दै डा. सम्वाहाम्फेले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा व्याप्त माफियातन्त्रको अन्त्य गरी आम नागरिकलाई राज्यको मूलधारमा ल्याउन आफू चुनावी मैदानमा उत्रिएको बताउनुभयाे ।

कृषि र उत्पादन: ‘उत्पादनमा किसान, बजारमा सरकार’

डा. सम्वाहाम्फेले किसानको उत्पादन लागत उठाउन र नाफा सुनिश्चित गर्न ‘उत्पादनमा किसान र बजारमा सरकार’ अभियानको घोषणा गर्नुभएकाे छ। यसअन्तर्गत मूलतः किसानलाई समयमै मल, बिउ र आधुनिक तालिमको ग्यारेन्टी गरिने छ भने भूमिहीन र सुकुम्वासी समस्याको स्थायी समाधानका लागि ठोस पहल गरिने छ ।

शिक्षा र स्वास्थ्य: सरकारी सेवामा गुणस्तर र पहुँच

शिक्षा र स्वास्थ्यमा भइरहेको व्यापारीकरण र माफियातन्त्र अन्त्य गर्ने प्रतिबद्धता जनाउँदै उहाँले भन्नुभयाे :

निःशुल्क र गुणस्तरीय शिक्षा: शिक्षा र स्वास्थ्यलाई संविधानको मर्मअनुसार पूर्ण निःशुल्क र गुणस्तरीय बनाउन आवश्यक कानुन निर्माणमा पहल गरिने छ ।

पूर्वाञ्चल विश्वविद्यालयको विकास: सो क्षेत्रमा रहेको पूर्वाञ्चल विश्वविद्यालयमा ३ सय शैयाको सुविधासम्पन्न अस्पताल सञ्चालन गरी न्युरो, अर्थो र गाइनो जस्ता विशेषज्ञ सेवा उपलब्ध गराउन नेतृत्व लिइने छ।

सेवा कोषको स्थापना: आफूले सांसदका रूपमा पाउने मासिक सुविधा (तलब) बाट एक ‘सेवा कोष’ स्थापना गरी जेहेन्दार गरिब विद्यार्थीलाई उच्च शिक्षा र विपन्नलाई उपचार सहायता दिने छु ।

पर्यटन र संस्कृति : पहिचानको संरक्षण

सबै धर्म र समुदायको आस्थालाई सम्मान गर्दै धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उहाँको योजना छ  । जसमा मन्दिर, गुम्वा, चर्च, मस्जिद, माङहिम र प्रकृति पूजकका थानहरूको विकास र संरक्षण गरिने छ भने हजारौँ वर्ष पुराना संस्कृतिको संरक्षणका लागि ‘सांस्कृतिक सङ्ग्रहालय’ निर्माण गरी त्यसलाई आयआर्जन र पर्यटनसँग जोड्ने याेजना छ ।

पूर्वाधार र वातावरण व्यवस्थापन

नदी नियन्त्रण: चिसाङ, वक्राहा, डाँस र लोहोन्द्रा लगायतका नदीहरूको कटान र डुबान नियन्त्रणका लागि दिगो योजना बनाइने छ । नदीजन्य स्रोतको उपयोगमा स्थानीय समुदायको साझेदारी र लगानी सुनिश्चित गरिने छ ।

वन पैदावार: उपभोक्तालाई घाँस, दाउरा र काठ जस्ता वन पैदावार सहुलियत मूल्यमा समान रूपले वितरण गर्ने व्यवस्था मिलाउन पहल हुने छ ।

वन्यजन्तु नियन्त्रण: जङ्गली जनावरको आतङ्क नियन्त्रण गरी पीडितलाई उचित क्षतिपूर्ति र राहतको व्यवस्था गर्न पहल गरिने छ ।

सामाजिक न्याय र युवा स्वरोजगार

महिला सशक्तीकरण: ‘शिक्षामा छोरी पहिला’ भन्ने नारासहित महिला हिंसा अन्त्य र महिला उद्यमशीलता विकासका लागि विशेष अभियान।

निःशुल्क कानुनी उपचार: असहाय र महिला हिंसाका मुद्दामा पीडितलाई निःशुल्क बहस पैरवीको व्यवस्था गर्ने।

युवा र वैदेशिक रोजगारी: विदेशबाट फर्किएका युवाहरूको सीप र पुँजीलाई स्वदेशमै सदुपयोग गरी थप पलायन रोक्ने र स्वरोजगारका अवसर सिर्जना गर्ने।

श्रमिकको हक: मजदुर, सिटी सफारी चालक र दैनिक ज्यालादारी श्रमिकहरूको समान ज्याला वृद्धि र हितका लागि नीतिगत पहल गर्ने।

पत्रकार सम्मेलनमा डा. सम्वाहाम्फेले आफूले जितेमा स्थानीय तह, प्रदेश र सङ्घीय सरकारबीच समन्वयकारी भूमिका निर्वाह गर्दै क्षेत्र नम्बर ३ लाई नमुना क्षेत्र बनाउने दृढता व्यक्त गर्नभयाे । उम्मेदवार सम्बाहाम्फेले मानविकी (राजनीनिशास्त्र) र व्यवस्थापनमा स्नातकाेत्तर, कानुनमा स्नातक र राजनीतिशास्त्रमा विद्यावारिधि गरेर कानुन व्यवासायी, शिक्षण र नाेटरी पब्लिक अफिसरकाे रूपमा बाैद्धिकता तिखार्नुभएकाे पाइन्छ।

सम्बन्धित खवर