फोटो पत्रकार अक्षयकोषमा सिद्धार्थ पौडेलको सहयोग

फोटो पत्रकार अक्षयकोषमा सिद्धार्थ पौडेलको सहयोग

नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेलले आर्थिक सहयोग प्रदान गरेका छन्।

व्यवसायसँगै सामाजिक सेवामा सक्रिय पौडेलले अक्षयकोषका लागि नगद १० हजार रुपैयाँ सहयोग गरेका हुन्। सहारा क्लब पोखराद्वारा आयोजित प्रतिष्ठित आहा रारा पोखरा गोल्डकपमा सहभागी हुन नेपाल आएका अवसरमा उनले उक्त रकम संघका कास्की अध्यक्ष राम गुरुङलाई हस्तान्तरण गरेका थिए।

हिमाअस एजुकेशनका प्रवन्ध निर्देशक समेत रहेका पौडेलले फोटो पत्रकारहरुको पेशागत सुदृढीकरणका लागि अक्षयकोष महत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गरेका छन्। उनले सञ्चार क्षेत्र लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै पत्रकारहरुको क्षमता अभिवृद्धिमा योगदान गर्न पाउनु गर्वको विषय भएको बताए।

सहयोग ग्रहण गर्दै एनपिजेए कास्कीका अध्यक्ष राम गुरुङले दाताप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले अक्षयकोषको दीर्घकालीन लक्ष्य पूरा गर्न महत्वपूर्ण टेवा पुग्ने बताए। उनका अनुसार संकलित रकम फोटो पत्रकारहरुको तालिम, क्षमता विकास तथा पेशागत सुरक्षा सुदृढीकरणमा खर्च गरिनेछ।

एनपिजेए कास्कीले स्थापना गरेको अक्षयकोषमा हाल विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी, व्यवसायी तथा संघसंस्थाहरुबाट सहयोग जुट्ने क्रम निरन्तर जारी रहेको जनाएको छ। पत्रकारहरुको वृत्तिविकास र पेशागत सम्मान अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको यस कोषलाई आगामी दिनमा थप विस्तार गरिने संघको तयारी छ।

सम्बन्धित खवर