भरतपोखरी विकास मञ्चद्वारा जनतासँग उम्मेदवार साक्षात्कार कार्यक्रम सम्पन्न

भरतपोखरी विकास मञ्चद्वारा जनतासँग उम्मेदवार साक्षात्कार कार्यक्रम सम्पन्न

भरतपोखरी विकास मञ्च, पोखरा–३३ ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै कास्की क्षेत्र नम्बर २ का उम्मेदवारहरूसँग विशेष साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ।

लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने उद्देश्यसहित आयोजित उक्त कार्यक्रम बुधबार पोखरा–३३, भरतपोखरीस्थित भगवती चौतारामा रहेको अन्नपूर्ण स्वास्थ्य चौकीको प्रांगणमा सम्पन्न भएको हो।

“मातृभूमिप्रतिको उच्च सम्मान, समृद्धिको सङ्कल्पका लागि असल नेतृत्व छनौटमा साझा अभियान” भन्ने मूल नारासहित सम्पन्न कार्यक्रममा कास्की क्षेत्र नम्बर २ बाट दलगत तथा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका उम्मेदवारहरूले आफ्नो प्रतिबद्धता, प्राथमिकता, एजेन्डा तथा घोषणापत्र सार्वजनिक गरेका थिए।

कार्यक्रमका अध्यक्ष डिल्ली राम बरालका अनुसार प्रत्येक उम्मेदवारलाई आफ्नो धारणा राख्न १० मिनेटको समय प्रदान गरिएको थियो। त्यसपछि स्थानीय मतदाताहरूले उठाएका जिज्ञासा, सुझाव तथा सवालहरूको उम्मेदवारहरूले प्रत्यक्ष जवाफ दिएका थिए। मञ्चका महासचिव गणेश प्रसाद ढकालले कार्यक्रमले मतदाता र उम्मेदवारबीच प्रत्यक्ष संवादको सशक्त वातावरण सिर्जना गरेको बताए।

कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका हेमबहादुर थापा पराजुली (किरण), राष्ट्रिय स्वतन्त्र प्रगतिशील लोकतान्त्रिक पार्टीका दिपक भण्डारी, उज्यालो नेपाल पार्टीका कुशल गुरुङ, नेपाल जनमुक्ति पार्टीका ख्यामबहादुर गुरुङ तथा स्वतन्त्र उम्मेदवार विष्णु प्रसाद तिवारीलगायत सहभागी भएका थिए।

साक्षात्कार कार्यक्रममा आमा समूह, टोल विकास संस्था, समाजसेवी, बुद्धिजीवी, नवपुस्ता युवा, युवा क्लबका प्रतिनिधि, विभिन्न राजनीतिक दलका कार्यकर्ता, सामाजिक अभियन्ता, पत्रकार तथा शैक्षिक क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

स्थानीय तहमा नीति, विकास र सुशासनका मुद्दामाथि खुला बहस गर्दै जनप्रतिनिधि छनोटको प्रक्रियालाई पारदर्शी र उत्तरदायी बनाउने उद्देश्यले आयोजित कार्यक्रमलाई सहभागीहरूले सकारात्मक अभ्यासका रूपमा लिएका छन्। भरतपोखरी विकास मञ्चले आगामी दिनमा पनि यस्ता जनसंवादमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

सम्बन्धित खवर