लेखनाथ जेसिस ले आफ्नो २८औँ स्थापना दिवसका अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग कार्यक्रम सम्पन्न गरेको छ। स्थापना दिवसको अवसर पारेर जेसिसले श्रीकृष्ण प्रणामी वृन्दावन धाम आश्रम मा आश्रित बालबालिका तथा वृद्धवृद्धालाई खाद्यान्न, पोशाक तथा स्टेशनरी सामग्री वितरण गरेको हो।
पोखरा–२७ डाँडाको नाकस्थित आश्रममा आयोजित कार्यक्रममा प्रमुख अतिथि इलाका प्रहरी कार्यालय डाँडाको नाक का प्रमुख गुणकराज बुढाथोकीले लेखनाथ जेसिसले युवाहरूको व्यक्तित्व तथा नेतृत्व विकासमा खेलेको भूमिका प्रशंसनीय रहेको बताए। उनले युवाहरूलाई विदेश पलायनभन्दा स्वदेशमै सम्भावना खोज्न र राष्ट्र निर्माणमा योगदान दिन आग्रह गरे।
कार्यक्रममा लेखनाथ जेसिसका संस्थापक अध्यक्ष बाबुराम जमरकट्टेलसहित पूर्व अध्यक्षहरू सुरेन्द्रराज अधिकारी, हरिप्रसाद लामिछाने, ऋषिराम जमरकट्टेल, नवीन बास्तोला, रोशन अधिकारी, सुजन न्यौपाने, चन्द्रप्रकाश ढुङ्गाना, प्रकाश राई भाट र शालिग्राम ओझाले जेसिसले निरन्तर गर्दै आएका सामाजिक तथा नेतृत्वमूलक गतिविधिहरू उदाहरणीय रहेको उल्लेख गर्दै सबै पक्षबीच सहकार्य आवश्यक रहेको धारणा राखे।
त्यस्तै पोखरा लेडिज जेसिस की अध्यक्ष सुनिता गौतम भण्डारी, पोखरा जेसिस का अध्यक्ष सुमन पहारी तथा आश्रमका संरक्षक गुरु विष्णु वशिष्ठले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
लेखनाथ जेसिसका अध्यक्ष सर्वेन्द्र न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक कमल गौतमले व्यक्त गरेका थिए भने सञ्चालन महासचिव रसिस हरि भण्डारीले गरेका थिए। उपाध्यक्ष विश्वास बरालका अनुसार स्थापना दिवसको अवसरमा आश्रममा रहेका १३ जना बालबालिका तथा वृद्धवृद्धालाई आवश्यक सामग्री वितरण गरिएको हो।
सामाजिक सेवा र नेतृत्व विकासलाई सँगसँगै अघि बढाउँदै आएको लेखनाथ जेसिसले स्थापना दिवसलाई उत्सवका रूपमा मात्र नभई सेवामूलक कार्यमार्फत समुदायसँग जोडिने अवसरका रूपमा मनाएको जनाएको छ।




