प्रि-एसईईकाे सारथि ‘वाल्मीकि मेमोरियल’: उत्कृष्ट व्यवस्थापनमा परीक्षा सञ्चालन

प्रि-एसईईकाे सारथि ‘वाल्मीकि मेमोरियल’: उत्कृष्ट व्यवस्थापनमा परीक्षा सञ्चालन

पथरी/आगामी चैतमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (SEE) को पूर्वतयारी स्वरूप लिइने ‘प्रि-एसईई’ माेरङकाे पथरीशनिश्चरे नगरमा मर्यादित र व्यवस्थित रूपमा सम्पन्न भएको छ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिमा आबद्ध विद्यालयहरूको संयुक्त आयोजनामा सञ्चालित यो परीक्षामा वाल्मीकि मेमोरियल आवासीय माध्यमिक विद्यालयले सफल नेतृत्वदायी भूमिका निर्वाह गर्दै मर्यादित र अनुशासित रूपमा सम्पन्न गरेकाे हाे ।

वाल्मीकि केन्द्रमा प्रविधिमैत्री पहरेदारी 

नगरका ७ वटा संस्थागत विद्यालयहरूको साझा केन्द्र बनेको वाल्मीकि मेमोरियल केन्द्रबाट पनि आज ऐच्छिक द्वितीय विषयको परीक्षा सम्पन्न भएसँगै प्रि-एसईई २०८२ पूरा भयाे । गत माघ २२ गतेदेखि सुरु भएको परीक्षालाई व्यवस्थित बनाउन वाल्मीकिले विशेष तयारी गरेको थियो।

केन्द्राध्यक्ष एवम् वाल्मीकि मेमाेरियल स्कुलका प्रिन्सिपल चन्द्रप्रसाद दुलालका अनुसार कुल ३४५ विद्यार्थीहरूले १६ वटा परीक्षा कोठाहरूमा बसेर शान्त वातावरणमा परीक्षा दिएका छन्। परीक्षाको मर्यादा कायम राख्न हरेक कोठामा औसत २० जना विद्यार्थी मात्र राखी सीसी क्यामेराको प्रत्यक्ष निगरानीमा परीक्षा सञ्चालन गरिएको थियो। साथै, विद्यार्थीहरूमा आत्मनिर्भरता बढाउन एउटै विद्यालयका विद्यार्थी सँगै नपर्ने गरी ‘मिक्स सिट प्लान’ गरिएको थियो। यस्ताै सराेकारित पक्षकाे  पटकपटककाे अनुगमन र निरीक्षणले पनि परीक्षालाई थप व्यवस्थित गर्न सहयाेग पुर्याएकाे पाइन्छ ।

केन्द्राध्यक्षको अनुभव: “आत्मअनुशासन नै सफलताको कडी”

मर्यादित रूपमा परीक्षा सञ्चालन गर्दाको अनुभव साट्दै केन्द्राध्यक्ष चन्द्रप्रसाद दुलाल भन्नुहुन्छ: “हाम्रो मुख्य उद्देश्य विद्यार्थीलाई परीक्षाको मनोवैज्ञानिक डरबाट मुक्त गराउनु र उनीहरूमा आत्मअनुशासनको विकास गराउनु थियो। जब हामीले सिसी क्यामेरा र वैज्ञानिक सिट प्लानको व्यवस्था गर्‍यौँ, विद्यार्थीहरूमा ‘मैले आफ्नै मेहनतले लेख्नुपर्छ’ भन्ने सकारात्मक प्रभाव पर्यो। कुनै दबाब वा डर दिएरभन्दा पनि एउटा मर्यादित र प्रविधिमैत्री प्रणालीभित्र बसेर परीक्षा दिँदा विद्यार्थीको वास्तविक क्षमता प्रस्फुटन हुने हाम्रो अनुभव रह्यो। वाल्मीकि केन्द्रमा सहभागी ७ वटै विद्यालयका विद्यार्थीले देखाएको अनुशासित व्यवहारले हामीलाई शैक्षिक गुणस्तर प्रति थप उत्साहित बनाएको छ।”

सहभागी विद्यालय र परीक्षार्थीको तथ्याङ्क

वाल्मीकि केन्द्रमा सहभागी कुल ३४५ परीक्षार्थीमध्ये सबैभन्दा धेरै ९२ जना वाल्मीकि मेमोरियलकै विद्यार्थी थिए। यस्तै रेडस्टारका ८८, एभरेस्टका ५२, न्यु पेगोडाका ३५, भूपू सैनिकका ३०, अरुणोदयका २७ र अन्नपूर्ण माविका २१ विद्यार्थीले यस केन्द्रबाट परीक्षा दिएका छन्।

नगरका अन्य ६ वटा विद्यालय (मोरङ मेरिगोल्ड, प्याराडाइज, केबी मेमोरियल, पेगोडा मोडल, कञ्चनजङ्घा र बालजागरण) ले भने आफ्नै होम सेन्टरमा परीक्षा सञ्चालन गरेकाे बुझिएकाे छ ।

निरीक्षणका क्रममा

नतिजा फागुन पहिलो साता

परीक्षा सम्पन्न भएसँगै अब उत्तरपुस्तिका परीक्षणको कार्य अघि बढ्ने प्याब्सनले जनाएको छ। फागुन पहिलो साता नतिजा प्रकाशन गर्ने लक्ष्य राखिएको छ। यस परीक्षाले विद्यार्थीहरूलाई आफ्नो कमजोरी सुधार्न र आगामी चैतमा हुने मुख्य बोर्ड परीक्षामा उत्कृष्ट नतिजा ल्याउन ठोस मार्गदर्शन गर्ने विश्वास गरिएको छ।

सम्बन्धित खवर