पथरी/ पथरीशनिश्चरे नगरपालिका (माेरङ) को आयोजना तथा पञ्चायत माध्यमिक विद्यालयको समन्वयमा सञ्चालन भइरहेको नगरस्तरीय ७औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत आज दोस्रो दिनको खेलमा छात्रतर्फ १०० मिटर दौडमा पञ्चायत माध्यमिक विद्यालय, पथरीशनिश्चरे–१ विजयी हुँदै स्वर्णपदक प्राप्त गर्न सफल भएको छ।
पञ्चायत माविका कक्षा ८ का विद्यार्थी प्रदीप विष्ट प्रथम भएका छन् भने जनता माध्यमिक विद्यालयका सविन भुजेल दोस्रो र रेडस्टार माध्यमिक विद्यालय (पथरीशनिश्चरे–२) का विशन मगर तेस्रो भएका छन्।
पञ्चायत माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले विद्यार्थीहरूको निरन्तर अभ्यास, शिक्षकहरूको मार्गदर्शन र विद्यालयको सकारात्मक वातावरणकै परिणाम आजको सफलता भएको बताउनुभयो।
“खेलकुदले विद्यार्थीमा अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमता विकास गर्छ,” उहाँले भन्नुभयो, “हामी पञ्चायत माविमा पढाइसँगै खेलकुदलाई पनि समान महत्व दिँदै आएका छौँ।”
विजयी विद्यार्थीलाई मेडल र प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ। भोलिसम्म सञ्चालन हुने राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा कक्षा १ देखि १२ सम्मका विद्यार्थी सहभागी छन्। एथलेटिक्स, भलिबललगायत विधासँगै यस वर्ष पहिलो पटक कबड्डी खेल पनि समावेश गरिएको छ। प्रतियोगिता आधारभूत र माध्यमिक दुवै तहमा सञ्चालन भइरहेको सदस्य सचिव अर्जुनकुमार बुढाथोकीले जानकारी दिनुभयो।
नगरभित्रका प्रतिभावान खेलाडी पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको राष्ट्रपति रनिङ सिल्डले अहिले पञ्चायत माध्यमिक विद्यालय परिसरलाई खेलमय बनाएको छ।




