पथरी/पथरीशनिश्चरे नगरपालिकाको आयोजना तथा पञ्चायत माध्यमिक विद्यालयको समन्वयमा सञ्चालन भइरहेको नगरस्तरीय ७औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत आज दोस्रो दिन भएको खेलमा आधारभूत तह छात्रतर्फ १०० मिटर दौडमा चन्द्रकिरातेश्वर माध्यमिक विद्यालय, पथरीशनिश्चरे–७ विजयी भएको छ। चन्द्रकिरातेश्वर माविका कक्षा ८ का विद्यार्थी विशाल मगर प्रथम भएका छन् भने हिरक आधारभूत विद्यालयका हारून गुरूङ दोस्रो र सिंहवाहिनी माध्यमिक विद्यालय (पथरीशनिश्चरे–९) का अविनाश दनुवार तेस्रो भएका छन्।
चन्द्रकिरातेश्वर माविका प्रधानाध्यापक हर्कराज जिमीले “खेलकुदले अनुशासन र आत्मविश्वास बढाउँछ,” भन्नुहुँदै अगाडि थप्नुभयाे- “हामी पढाइसँगै खेललाई पनि प्राथमिकतामा राख्दै आएका छौँ।” खेल शिक्षक नारायण दाहालका अनुसार चन्द्रकिरातेश्वर माविका कक्षा ८ की छात्रा शेसेफुङ लिम्बू २०० मिटर दाैडतर्फ दाेस्राे स्थान हासिल गर्न सफल भएकी छन् ।
विजयी विद्यार्थीलाई मेडल र प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ। भोलिसम्म सञ्चालन हुने राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा कक्षा १ देखि १२ सम्मका विद्यार्थी सहभागी छन्। एथलेटिक्स, भलिबललगायत विधासँगै यस वर्ष पहिलो पटक कबड्डी खेल पनि समावेश गरिएको छ। प्रतियोगिता आधारभूत र माध्यमिक दुवै तहमा सञ्चालन भइरहेको सदस्य सचिव अर्जुनकुमार बुढाथोकीले जानकारी दिनुभयो।
नगरभित्रका प्रतिभावान खेलाडी पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको राष्ट्रपति रनिङ सिल्डले अहिले पञ्चायत माध्यमिक विद्यालय परिसरलाई खेलमय बनाएको छ।




