पथरी/पथरीशनिश्चरे नगरपालिकाको आयोजनामा तथा पञ्चायत माध्यमिक विद्यालयको समन्वयमा सञ्चालन भइरहेको नगरस्तरीय ७औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत आज दोस्रो दिनको खेलमा आधारभूत तह छात्रतर्फ २०० मिटर दौडमा जनता माध्यमिक विद्यालय, पथरीशनिश्चरे–३ विजयी भएको छ। जनता माविका कक्षा ८ का विद्यार्थी कुमार श्रेष्ठ प्रथम भएका छन् भने सिंहवाहिनी माध्यमिक विद्यालयका अविनाश दनुवार दोस्रो र दुर्गा माध्यमिक विद्यालय (पथरीशनिश्चरे–७) का अरुणकुमार ऋषिदेव तेस्रो भएका छन्।
जनता माविका प्रधानाध्यापक पदम सापकोटाले विद्यार्थीहरूको निरन्तर अभ्यास र शिक्षकहरूको मार्गदर्शनले सफलता हासिल भएको बताउनुभयाे ।
“खेलकुदले विद्यार्थीलाई अनुशासित र आत्मविश्वासी बनाउँछ,” उहाँले भन्नुभयो, “हामी शैक्षिक उपलब्धिसँगै खेलकुदलाई पनि समान प्राथमिकता दिँदै आएका छौँ।”
विजयी विद्यार्थीलाई मेडल र प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ। भोलिसम्म सञ्चालन हुने राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा कक्षा १ देखि १२ सम्मका विद्यार्थी सहभागी छन्। एथलेटिक्स, भलिबललगायत विधासँगै यस वर्ष पहिलो पटक कबड्डी खेल पनि समावेश गरिएको छ। प्रतियोगिता आधारभूत र माध्यमिक दुवै तहमा सञ्चालन भइरहेको सदस्य सचिव अर्जुनकुमार बुढाथोकीले जानकारी दिनुभयो।
नगरभित्रका प्रतिभावान खेलाडी पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको राष्ट्रपति रनिङ सिल्डले अहिले पञ्चायत माध्यमिक विद्यालय परिसरलाई खेलमय बनाएको छ।




