सुरू भयाे राष्ट्रपति रनिङ सिल्ड प्रतियाेगिता : मार्चपासमा रेडस्टार प्रथम  

सुरू भयाे राष्ट्रपति रनिङ सिल्ड प्रतियाेगिता : मार्चपासमा रेडस्टार प्रथम  

पथरी/पथरीशनिश्चरे नगरपालिकाको आयोजनामा तथा पञ्चायत माध्यमिक विद्यालयको समन्वयमा सुरु भएको नगरस्तरीय ७औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन अवसरमा आयोजित मार्चपास प्रतिस्पर्धामा रेडस्टार माध्यमिक विद्यालय प्रथम भएको छ। प्रतियाेगिताकाे पहिलाे उपाधिकाे रूपमा मार्चपासकाे नतिजासँगै पुरस्कार दिइएकाे हाे । रेडस्टार माविले प्रमाणपत्रसहित नगद पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको अतिरिक्त क्रियाकलाप संयोजक सनम गजमेरले जानकारी दिनुभयाे ।

आजै भएकाे उद्घाटन कार्यक्रमको अध्यक्षता पथरीशनिश्चरे–१ का वडाध्यक्ष भीमकुमार राईले गर्नुभएकाे थियाे भने प्रमुख अतिथि नगरप्रमुख मोहनप्रसाद तुम्बापो हुनुहुन्थ्याे । कार्यक्रम सञ्चालन राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका सदस्य सचिव अर्जुनकुमार बुढाथोकीले गर्नुभयाे ।

मार्चपासतर्फ भूपू सैनिक स्कुल दोस्रो, केबी स्मारक स्कुल तेस्रो तथा जनता माध्यमिक विद्यालय सान्त्वना भएका छन्।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरूले सहभागिता जनाइरहेका छन्। एथलेटिक्स, भलिबललगायत विभिन्न खेल विधासँगै यस वर्ष पहिलो पटक कबड्डी खेल पनि समावेश गरिएको छ। प्रतियोगिता आधारभूत र माध्यमिक दुवै तहमा सञ्चालन भइरहेको छ।

नगरभित्रका प्रतिभावान खेलाडी पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको राष्ट्रपति रनिङ सिल्डले पञ्चायत माध्यमिक विद्यालय परिसरलाई खेलमय बनाएको छ।

सम्बन्धित खवर