फुड फेस्टिबल, स्वागत कार्यक्रम र पुरस्कार वितरणले विद्यालय उत्सवमय
पथरी/मोरङको पथरीशनिश्चरे–१ स्थित पञ्चायत माध्यमिक विद्यालयमा आजदेखि शैक्षिक, सांस्कृतिक तथा खेलकुद गतिविधिहरू एकैसाथ सुरु भएका छन् । विद्यालयले पाँच समूहमा विभाजन गरी फुड फेस्टिबल आयोजना गर्नुका साथै कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको स्वागत कार्यक्रम र कक्षा १ देखि १० सम्म शैक्षिक प्रगति हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ।
विद्यालय परिसर विद्यार्थी, शिक्षक र अभिभावकको उल्लेख्य सहभागितासहित उत्सवमय बनेको छ।
स्वच्छ, स्वस्थ र ताजा परिकारसहित फुड फेस्टिबल
विद्यार्थीहरूमा पोषणसम्बन्धी सचेतना बढाउने र व्यावहारिक सिकाइ प्रवर्द्धन गर्ने उद्देश्यले फुड फेस्टिबल आयोजना गरिएको छ । ।
फुड फेस्टिबलमार्फत विद्यार्थीहरूले त्यहीँ तयार गरिएका पौष्टिक खानाका परिकार प्रदर्शन तथा बिक्री गर्दै छन्र, जसले उनीहरूमा आत्मनिर्भरता, समूहकार्य र सिर्जनात्मकताको विकासमा टेवा पुगेको शिक्षकहरूको भनाइ छ।
अाज विशेष कायर्यक्रमकाे अवसरमा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको स्वागत गरिएको छ भने वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरी सम्मान गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले विद्यालयले पढाइसँगै जीवनोपयोगी सीप र खेलकुदलाई समान महत्व दिँदै आएको बताउनुभयाे ।
“कक्षाकोठाको पढाइ मात्र पर्याप्त हुँदैन, यस्ता गतिविधिले विद्यार्थीको आत्मविश्वास र नेतृत्व क्षमता बढाउँछ,” उहाँले भन्नुभयाे।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञप्रसाद बाँस्कोटाले शैक्षिक उपलब्धिसँगै व्यावहारिक शिक्षा र खेलकुदलाई जोड दिनुपर्ने बताउनुभयाे ।
“विद्यालय प्रतिभा उत्पादन गर्ने थलो हो, यस्ता कार्यक्रमले विद्यार्थीभित्र लुकेको क्षमता उजागर गर्छ,” अध्यक्ष बाँस्काेटाले उल्लेख गर्नुभयाे।
भोलिदेखि ७औँ राष्ट्रपति रनिङ सिल्ड
भोलिदेखि तीन दिनसम्म पञ्चायत माध्यमिक विद्यालयमै नगरस्तरीय ७ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरु हुँदैछ। प्रतियोगिता पथरीशनिश्चरे नगरपालिकाको आयोजनामा तथा पञ्चायत माध्यमिक विद्यालयको समन्वयमा सञ्चालन हुन लागेको हो।
प्रतियोगितामा कक्षा १ देखि १२ सम्मका विद्यार्थी सहभागी हुनेछन्। एथलेटिक्स, भलिबललगायत विधासँगै यस वर्ष पहिलो पटक कबड्डी खेल पनि समावेश गरिएको छ। नगरका सामुदायिक, संस्थागत, धार्मिक तथा गुठी मातहत सञ्चालित सबै प्रकृतिका विद्यालयका आधारभूत र माध्यमिक दुवै तहमा प्रतिस्पर्धा गराइने नगर शिक्षा, युवा तथा खेलकुद शाखाले जानकारी दिएकाे छ।
यसैबीच पञ्चायत माध्यमिक विद्यालयमै २३ देखि २५ गतेसम्म आयोजना गर्ने भनिएको प्रतिभा पहिचान कार्यक्रम हाल स्थगित गरिएको छ। स्राेतका अनुसार सम्भवतः उक्त कार्यक्रम फागुन ७ देखि ९ गतेसम्म सञ्चालन हुने तयारी भइरहेको छ।
फुड फेस्टिबल, स्वागत तथा सम्मान कार्यक्रम र राष्ट्रपति रनिङ सिल्डसँगै पञ्चायत माध्यमिक विद्यालय अहिले शैक्षिक र खेलकुद गतिविधिको केन्द्रका रूपमा उभिएको छ। (केशव भारद्वाज)




