कास्कीको पोखरा महानगरपालिका वडा नं. ३३ स्थित शिव बस्ती सिप्लेनीतरा युवा क्लबको आयोजनामा प्रथम आमन्त्रित महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।
पोखरा महानगरपालिका वडा नं. ३३ को संरक्षकत्व तथा स्थानीय संघ–संस्थाको सहकार्यमा प्रतियोगिता आगामी फागुन ७ गतेदेखि ९ गतेसम्म सञ्चालन हुनेछ।
सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताबारे जानकारी गराएको हो। महिला फुटबलको प्रवर्द्धन, नयाँ खेल प्रतिभाको पहिचान तथा स्थानीय स्तरमा खेलकुद गतिविधि विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष अशिम पौडेलले जानकारी दिए।
प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट आठ वटा महिला फुटबल क्लबहरूको सहभागिता रहने छ। सहभागी क्लबहरूमा राइजिङ्ग स्टार युथ क्लब (कपिलवस्तु), आयोजक शिव बस्ती सिप्लेनीतरा युवा क्लब (पोखरा–३३), एम्बेस्डर फुटबल नेपाल (काठमाडौँ), म्याग्दी जिल्ला फुटबल एसोसिएसन, साइमन स्पोर्ट (चितवन), हिन्दी फिल्डर्स गोर्खा फुटबल क्लब, हेम्जा युनाइटेड क्लब तथा ट्रिनिटी क्लब (वालिङ, स्याङ्जा) रहेका छन्।
पत्रकार सम्मेलनमा बोल्दै पोखरा महानगरपालिका वडा नं. ३३ का वडाअध्यक्ष रामचन्द्र अधिकारीले प्रतियोगिताले महिला खेलाडीहरूलाई प्रतिस्पर्धात्मक वातावरण प्रदान गर्नुका साथै खेलप्रतिको आकर्षण बढाउने विश्वास व्यक्त गरे। उनले यस्ता प्रतियोगिताले भविष्यका राष्ट्रिय खेलाडी उत्पादनमा समेत टेवा पुग्ने उल्लेख गर्दै प्रतियोगितालाई सफल बनाउन स्थानीय तह, खेलप्रेमी, अभिभावक तथा सरोकारवाला निकायको सहयोग अपरिहार्य रहेको बताए।
प्रतियोगिता सञ्चालनका लागि करिब १० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। प्रतियोगितामा प्रथम हुने टोलीलाई एक लाख रुपैयाँ, द्वितीय टोलीलाई ५० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। साथै विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक जंगबहादुर थापाले जानकारी दिए।
स्थानीय तहको सक्रिय सहयोगमा आयोजना हुन लागेको यस प्रतियोगिताले पोखरा–३३ लाई महिला फुटबलको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।




