कास्कीको पोखरा महानगरपालिका वडा नं. २६ स्थित अर्घौचोकमा रहेको लेखनाथ बचत तथा ऋण सहकारी संस्थाको १८औँ स्थापना दिवसको अवसरमा अन्तर–सहकारी खुला दौड प्रतियोगिता सम्पन्न भएको छ।
सहकारीहरूबीच आपसी एकता, सहकार्य र सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले शनिबार आयोजना गरिएको प्रतियोगितामा ५ किलोमिटर खुला महिला तथा पुरुष दौड समावेश गरिएको थियो।
महिला तर्फ पवित्रा लामिछानेले निर्धारित दूरी २९ मिनेट १५ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गर्न सफल भइन्। यसैगरी आसिका लामिछाने द्वितीय, पार्वती अधिकारी तृतीय स्थानमा रहँदा माया पौडेल, पवित्रा नेपाली, अंकिता लामिछाने, नारायणी अधिकारी र इन्दु कुमारी सापकोटाले सान्त्वना स्थान प्राप्त गरे।
पुरुष तर्फ नयन बचत तथा ऋण सहकारी संस्थाका नवराज केसीले निर्धारित दूरी १८ मिनेटमा पूरा गर्दै प्रथम स्थान हात पारे। द्वितीय स्थान सिलिङ कृषि सहकारीका सुदिन रानाभाटले हासिल गर्दा तृतीय स्थान दिपाङ मत्स्य सहकारीका नारायण लामिछानेले प्राप्त गरे। सान्त्वना तर्फ खडानन्द लामिछाने, मिलन परियार, सूर्य थापा क्षेत्री, अर्पण थापा र रमिल समुदा मगर परे।
प्रतियोगितामा प्रथम हुनेलाई ७ हजार, द्वितीयलाई ५ हजार, तृतीयलाई ३ हजार तथा सान्त्वना स्थान प्राप्त गर्ने प्रत्येकलाई १–१ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो।
यसैगरी जेष्ठ सहभागी तर्फ भरतलाल श्रेष्ठ र गंगा धमला, कान्छो सहभागी तर्फ संकल्प अधिकारी पुरस्कृत भए। सोही अवसरमा जिल्ला सहकारी संघ कास्कीबाट प्रदान गरिने उत्कृष्ट व्यवस्थापन पुरस्कारबाट पुरस्कृत संस्थाका व्यवस्थापक गोविन्द लामिछानेलाई विशेष सम्मान गरिएको थियो।
संस्थाका अध्यक्ष लेखनाथ सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका वडा नं. २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले गरेका थिए। कार्यक्रमको सञ्चालन संस्थाका सचिव शिवप्रसाद भण्डारीले गरेका थिए।




