लेखनाथ उद्योग वाणिज्य संघले नव उद्यमी व्यवसायीहरूलाई लक्षित गरी शुक्रबार एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
उद्यमशीलताको विकास र व्यवसायलाई व्यवस्थित तथा दिगो बनाउन सहयोग पुर्याउने उद्देश्यले आयोजना गरिएको उक्त तालिममा व्यवसाय दर्तादेखि सुरु गर्ने प्रक्रिया, बजारीकरण, ब्रान्डिङ, वित्तीय व्यवस्थापन, अभिलेख राख्ने तरिका, नवीकरण तथा करसम्बन्धी विषयमा प्रशिक्षण दिइएको थियो।
कार्यक्रमको शुभारम्भ गर्दै आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख शिवप्रसाद ढुंगानाले सूचना प्रविधिको तीव्र विकाससँगै राज्यले पेपरलेस र फेसलेस प्रशासनको अभ्यासलाई अघि बढाइरहेको उल्लेख गरे। उनले व्यवसायीहरूले अनलाइन माध्यमबाटै व्यवसाय दर्ता, नवीकरण तथा कर चुक्ताजस्ता सेवा सुविधा लिन सक्ने अवस्था बनेको भन्दै यसको प्रभावकारी उपयोग गर्न आग्रह गरे।
प्रमुख ढुंगानाले व्यवसाय सञ्चालनका क्रममा वास्तविक कारोबार लुकाउन नहुने सुझाव दिंदै विभिन्न संयन्त्रमार्फत कडा निगरानी हुने भएकाले झुट्टा विवरण पेश गर्दा कानुनी सजायको भागीदार बन्न सक्ने चेतावनी पनि दिए।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले संघले उद्यमशीलतालाई उच्च प्राथमिकतामा राख्दै आएको बताइन्। संघमा आबद्ध व्यवसायीहरूको व्यवसायलाई सफल, सुदृढ र प्रतिस्पर्धी बनाउन यस्ता तालिमहरू कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरिन्।
संघका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले विभिन्न बहानामा हुने आन्दोलन, बैंक तथा वित्तीय संस्थाहरूको अस्थिर ब्याजदर लगायतका कारण व्यवसायीमैत्री वातावरण निर्माण हुन नसक्दा निजी क्षेत्र सधैं मारमा पर्ने गरेको धारणा राखे।
संघकी अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा सम्पन्न तालिममा चार्टर्ड एकाउन्टेन्ट विवेक श्रेष्ठले सहजीकरण गरेका थिए। कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझाले गरेका थिए भने धन्यवाद ज्ञापन तालिम व्यवस्थापन उप–समितिका संयोजक सुजन न्यौपानेले गरेका थिए।





